Like us!
Follow us!
Connect us!
Watch us!

लघुवित्त पीडित संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

अर्थ संसार

शुक्रबार, ०२ चैत्र २०८०, १६ : ४१ मा प्रकाशित

लघुवित्त पीडित संघर्ष समिति र सरकारबीच ६ बुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

अर्थ मन्त्रालय र लघुवित्त पीडित संघर्ष समितिसँग आज  ६ बुँदे सहमति भएको छ ।

लामो समयदेखि राजधानी केन्द्रित आन्दोलन गर्दै आएका लघुवित्त पीडितसँग हिजो बिहीबार पनि अबेरसम्म वार्ता भएको थियो । हिजो नै सहमतिको नजिक पुगेपनि संघर्ष समितिले थप समय माग गरेपछि आज फेरि वार्ता भएको हो । सरकारकोतर्फबाट वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान महाशाखा प्रमुख नारायणप्रसाद रिसाल नेतृत्वमा गठित समितिले संघर्ष समितिसँग वार्ता गरेको हो ।

सहमतिका बुँदा अनुसार लघुवित्त वित्तीय संस्थाहरुलाई थप सेवामुखी संस्थाको रुपमा सञ्चालन गर्न के कस्तो नीतिगत एवं कानूनी व्यवस्था गर्न आवश्यक छ भन्ने सम्बन्धमा अन्तर्राष्ट्रिय अभ्यासहरु तथा अन्तर्राष्ट्रिय कानून समेतको अध्ययन गरी उचित नीतिगत तथा कानूनी व्यवस्था सम्बन्धमा सिफारिस गर्न नेपाल सरकार, अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने पहिलो बुँदा रहेको छ ।

लघुवित्त वित्तीय संस्थाहरुको क्षेत्रमा देखिएका समस्या समाधानका विषयमा नेपाल राष्ट्र बैंकवाट हालसम्म भएका कार्यहरुका सम्बन्धमा छलफल भई विभिन्न विषयहरुमा समयानुकूल सुधार र प्रभावकारी कार्यान्वयनको व्यवस्था मिलाउने र उक्त कानूनी तथा नीतिगत प्रावधानहरु र राष्ट्र बैंकको निर्देशन पालना नगर्ने लघुवित्त वित्तीय संस्थाहरुलाई प्रचलित कानून बमोजिम कारबाहीको दायरामा ल्याउने सहमति पनि भएको छ ।

यस अनुसार नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम लघुवित्त वित्तीय संस्थाले ऋणीसँग लिन पाउने तोकिएको अधिकतम व्याजदर र सेवा शुल्क मात्र लिन पाउने व्यवस्था कडाईका साथ लागू हुनेछ भने तोकिएको कर्जा सीमाभन्दा बढी सामूहिक कर्जा दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गरी त्यसको उल्लंघन गर्ने वा गरेका संस्थाहरुलाई कानून वमोजिम हदैसम्मको कारवाही हुनेछ ।

एक जना ऋणीले एकभन्दा बढी लघुवित्त वित्तीय संस्थाहरुवाट ऋण लिन र दिन नपाउने व्यवस्थाको प्रभावकारी कार्यान्वयन हुनेछ । ऋण लिँदाकै बखत ऋणीको अनुमति बिना वा ऋणीलाई प्रभावमा पारी निश्चित प्रतिशत रकम कट्टा गरी बचत खातामा रकम जम्मा गर्न लगाउने, ऋण लगानी गर्दाकै समयमा किस्ता बापतको रकम अग्रिम जम्मा गर्न लगाउने जस्ता कार्यलाई नियन्त्रण गरिनेछ । कर्जाको पुनर्तालिकीकरण र पुनर्संरचनाको सम्बन्धमा नेपाल राष्ट्र बैंकको निर्देशन विपरीत कार्य गर्ने लघुवित्त वित्तीय संस्थालाई प्रचलित कानून बमोजिम कारबाही गर्ने पनि सहमति भएको छ ।

सहमतिको तेस्रो बुँदामा लघुवित्त वित्तीय संस्थाहरुले कर्जा प्रवाह गर्दा ऋणीहरुलाई वित्तीय साक्षरता तथा सचेतना गराएर मात्र कर्जा प्रवाह गर्ने व्यवस्थालाई नेपाल राष्ट्र बैंकले सम्बन्धित संस्थाहरुबाट अनिवार्य रुपमा पालना गर्ने व्यवस्था मिलाउनु पर्ने उल्लेख गरिएको छ ।यसैगरी चौथो बुँदामा आन्दोलनरत पक्षबाट एकल अंक व्याज दर तथा एक प्रतिशत सेवा शुल्क कायम गर्न माग भएको सन्दर्भमा त्यस्तो व्याजदर तथा सेवा शुल्क कम गरी समयानुकूल बनाउन अवलम्बन गर्ने सहमति भएको छ ।

यसैगरी वि.सं. २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड - १९ को समस्या एवं लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवं असुली गर्दा पालना गर्नु पर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, व्याज, शुल्क, जरिबाना, कालोसूची एवं धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्ग, दीर्घ रोगी) वास्तविक पीडितहरुको कर्जा मिनाहा लगायतका विषयहरुलाई सम्बोधन गर्नुपर्ने भनी आन्दोलनरत पक्षबाट माग भएको विषयमा स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको साठी दिन भित्र प्रतिवेदन पेस गर्न सम्बन्धित क्षेत्रका विज्ञ र आन्दोलनरत पक्षका तीन जना प्रतिनिधि समेतको सहभागितामा कार्यदल गठन गर्ने सहमति भएको छ ।

छैटौं बुँदा अनुसार आन्दोलनरत संघर्ष समितिको तर्फबाट आन्दोलनका कार्यक्रमहरु स्थगन गर्ने सहमति भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको