Like us!
Follow us!
Connect us!
Watch us!

आसन्न बजेटबारे अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

अर्थ संसार

विहीबार, १३ बैशाख २०८१, ०९ : ०९ मा प्रकाशित

आसन्न बजेटबारे अर्थमन्त्रीले लिए ७ पूर्वअर्थमन्त्रीसँग सुझाव

अर्थमन्त्री वर्षमान पुन अनन्तले आसन्न २०८१/०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् ।

बुधबार साँझ नयाँ बानेश्वरस्थित एक होटलमा अर्थमन्त्री पुनले सात पूर्व अर्थमन्त्रीसँग बजेटबारे सुझाव लिएका हुन् । छलफलमा सहभागी हुने पूर्व अर्थमन्त्रीहरुमा विष्णुप्रसाद पौडेल, जनार्दन शर्मा, डा. प्रकाशचन्द्र लोहनी, डा. प्रकाशशरण महत, शंकरप्रसाद कोइराला, सुरेन्द्र पाण्डे र डा. युवराज खतिवडा रहेका थिए । यसैगरी कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी, राजश्व सचिव डा. रामप्रसाद घिमिरे, बजेट लेखन समिति संयोजक सहसचिव धनिराम शर्मा, सहसचिवहरु बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, महेश आचार्य, ईश्वरी अर्याल, पार्वती शर्मा र रामप्रसाद आचार्यलगायत पनि सहभागी थिए ।

छलफलमा सहभागी पूर्व अर्थमन्त्रीहरुले महात्वाकांक्षी र पपुष्लिट नभई यथार्थपरक बजेट ल्याउन सुझाव दिएका थिए । पूर्व अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रिय गौरबका आयोजना, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना र चालु आयोजनामा मात्र बजेटमा समावेश गर्न सुझाव दिँदै अनगिन्ती योजना थपेर असीमित ढंगले बजेटको आकार फराकिलो बनाउन नहुने बताए । छलफलमा सहभागी पूर्वअर्थमन्त्री डा. लोहनीले देशको अर्थतन्त्र संकटोन्मुख रहेको भन्दै सुधारका लागि प्रधानमन्त्रीदेखि क्याबिनेटका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने बताए ।

अर्का पूर्वमन्त्री डा. प्रकाशशरण महतले कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम नगर्न सुझाव दिँदै पपुलिज्मका पछाडि नलाग्न जोड दिए । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको बजेटको सिलिङ ठूलो भएको उल्लेख गर्दै बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या रोगका रुपमा विकास भएको बताए ।

पूर्व अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आर्थिक स्थायित्वका लागि कुनै एक क्षेत्र छनोट गरि प्रोत्साहन गर्ने नीति लिनुपर्ने बताए । अर्का अर्थमन्त्री जनार्दन शर्माले पुँजीगत खर्च निराशाजनक रहेको बताउँदै नियामक संस्थाहरुका कारण निजी क्षेत्र आतंकित भएको उल्लेख गरे । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विधिपूर्वक काम गर्दा केही हुँदैन भन्ने ग्यारेण्टी हुनुपर्ने बताउँदै देश बनाउने हो भने सबै एकैतिर फर्किनु पर्नेमा जोड दिए । नियामक निकायलाई राजनीतिक वा व्यक्तिगत प्रतिशोधका आधारमा प्रयोग गर्ने नहुने पाण्डेको भनाई थियो ।

सुझाव सुने पछि मन्त्री पुनले ती सुझावलाई मनन गरी बजेट निर्माण गर्ने बताएका थिए । अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै अर्थमन्त्रीहरुका सुझावलाई गाइडलाइनका रुपमा आफूले गहन गर्ने अर्थमन्त्री पुनको भनाई थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको