Like us!
Follow us!
Connect us!
Watch us!

नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छः अमेरिकी राजदूत थम्पसन

अर्थ संसार

शनिबार, १५ बैशाख २०८१, २१ : १८ मा प्रकाशित

नेपालमा लगानी भित्र्याउन नीति स्पष्ट हुनुपर्छः अमेरिकी राजदूत थम्पसन

नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले नेपालमा विदेशी लगानी भित्र्याउनका लागि नीतिगत स्थिरता र स्पष्टता आवश्यक भएको बताएका छन् ।

अमेरिकी चेम्बर अफ कमर्श नेपालको आयोजनामा आज राजधानीमा आयोजित ‘यूए–नेपाल व्यावासयिक सम्बन्ध अभिवृद्धि’ विषयक अन्तरक्रियामा उनले नीतिगत तहमा स्पष्ट नभएसम्म नेपालले स्वदेशी वा विदेशी लगानी बढ्न कठिन हुने बताए । उनले आर्थिक समृद्धिका लागि नीति पारदर्शिता, स्थिरता र अनुमानयोग्य हुनुपर्ने भन्दै सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने बताए ।

“अमेरिका र नेपालबीच लामो समयदेखि सम्बन्ध रहि आएको छ, अमेरिका नेपालले समृद्ध लोकतन्त्र, आर्थिक वृद्धि तथा विकास र मानव अधिकार, सामाजिक न्यायका क्षेत्रमा प्रगति गरेको हेर्न चाहन्छ”, उनले भने, “लोकतन्त्र र सामाजिक न्याय भयो भने आर्थिक समृद्धि हासिल गर्न सकिन्छ ।”

राजदूत थम्पसनले पछिल्लो समय अमेरिकी सरकारले विद्युतीय प्रसारणलाइन, सडकलगायतका पूर्वाधार क्षेत्रमा लगानीका साथै महिलाद्वारा सञ्चालित साना उद्यममा पनि सहयोग गरिरहेको जानकारी दिए । उनले नीतिमा स्पष्टता भए थप अमेरिकी लगानी नेपालमा आउनसक्ने विश्वास व्यक्त गर ।

यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष अतुल केशपले नेपालमा भोलिदेखि सुरु हुन लागेको लगानी सम्मेलनको पूर्वसन्ध्यामा आयोजित यसप्रकारको कार्यक्रमले सकारात्मक सन्देश प्रवाह भएको बताए । उनले नेपालमा डिजिटल अर्थतन्त्र, सूचना प्रविधि, कृषिलगायतका क्षेत्रमा लगानीको ठूलो सम्भावना भएको भन्दै यी क्षेत्रको विकासबाटै मुलुकका समृद्धि हासिल बताए ।

केशपले नेपालमा लगानी बढाउनका लागि नीतिगत स्पष्टतामा जोड दिँदै लगानीमैत्री वातावरण बनाउन सके ठूलो लगानी भित्रनेमा विश्वास व्यक्त गरे ।
“अहिले नेपालमा भित्रने कुल प्रत्यक्ष विदेशी लगानीमा अमेरिकी लगानी तीन प्रतिशत मात्रै छ, लगानीमैत्री वातावरण र नीति हुने हो भने आगामी दिनमा यसलाई बढाउन सकिन्छ”, उनले भने ।

अमेरिकी चेम्बर अफ कमर्श नेपाल (एमच्याम)का अध्यक्ष तथा मेटलाइफ नेपालका उपाध्यक्ष तथा प्रबन्ध निर्देशक  निर्मलकाजी श्रेष्ठले नेपाल लगानीको ठूलो सम्भावनाको मुलुक भएको बताए । “नेपाल लगानीको सम्भावना भएको मुलुक हो, हाम्रो अहिलेको प्राथमिकता हालको लगानीलाई दिगो बनाउने र आगामी दिनमा अमेरिकी लगानी बढाउनु हो”, उनले भने, “यसका लागि सबै साझेदारहरुको सहयोग आवश्यक छ ।” उनले यूएस चेम्बर अफ कमर्शका दक्षिण एसियाका वरिष्ठ उपाध्यक्ष केशपले अमेरिकी चेम्बर अफ कमर्श नेपाललाई छोटो समयमा मान्यता दिलाउन खेलेको भूमिकाको चर्चा गरे ।

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग यूएसएड नेपालका मिसन निमित्त निर्देशक करिन वेल्चले आफूहरुले सरकारी र निजी क्षेत्रसँगको सहकार्यमा विभिन्न काम गरिरहेको बताइन् । उनले नेपालको आर्थिक विकासका लागि यूएसएडले पर्यटन, सूचना प्रविधि, कृषि र क्लिन इनर्जीका क्षेत्रमा यूएसएडले काम गरिरहेको बताए । उनले नेपालको पर्यटन क्षेत्रमा ठूलो सम्भावना रहेको समेत उल्लेख गरिन् ।

 “नेपालको पर्यटन क्षेत्र यतिबेला नयाँ ढङ्गले अगाडि बढिरहेको छ, पर्यटन क्षेत्रमा ठूलो सम्भावन छ । पर्यटनमा लगानी गरी आर्थिक विकास गर्न सकिन्छ”, उनले भनिन् ।

अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का दक्षिण एसिया क्षेत्रीय मामिलाका निर्देशक सेमास विसेलले आर्थिक समृद्धि भयो भने राष्ट्रिय सुरक्षा बलियो हुनेमा जोड दिए  ।

नेपाली व्यवसायी सुजीव शाक्यले नेपाल यतिबेला जनसाङ्ख्यकीय लाभ लिने अवस्थामा रहेको भन्दै यसको उपयोग गर्नुपर्नेमा जोड दिए । “चीन र भारत जस्ता ठूलो अर्थतन्त्र भएका मुलुकका बीचमा नेपाल छ, यद्यपि नेपालसँग अहिले युवाजनशक्तिको सङ्ख्या ठूलो भएकाले सम्भावना पनि उत्तिकै छ”, उनले भने, “अहिले एक करोड लगानी आउँदा पनि समाचार बन्ने अवस्था रहेकोमा आगामी दिनमा ठूलो लगानी ल्याउने गरी काम गर्नेतर्फ अगाडि बढ्नुपर्ने आवश्यकता छ ।”

कार्यक्रममा अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायका प्रतिनिधिले नेपालमा काम गर्दाका अवसर र चुनौतीबारे आफ्ना अनुभव राखेका थिए ।

त्यस अवसरमा अमेरिकी चेम्बर अफ कमर्श इन नेपाल (एमच्याम) र अमेरिकी वाणिज्य मन्त्रालयको अन्तर्राष्ट्रिय व्यापार प्रशासनबीच अमेरिकी व्यापार र लगानी रणनीतिक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर समेत भएको थियो ।

जसमा  एमच्यामका तर्फबाट अध्यक्ष निर्मलकाजी श्रेष्ठ र अन्तर्राष्ट्रिय व्यापार प्रशासनका तर्फबाट उद्योग र विश्लेषणसम्बन्धी प्रमुख उपसहायक मन्त्री हेदर हेमले हस्ताक्षर गरेका थिए ।

662d1b478a8e7.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको