Like us!
Follow us!
Connect us!
Watch us!

आफ्नै विवरणपत्रको मजाक उडाउँदै कम्पनीका वित्तीय विवरण, पछिल्ला ५ आइपिओ निष्कासन गरेका कम्पनीको यस्तो छ लेखाजोखा

अर्थ संसार

विहीबार, १० जेठ २०८१, १४ : ३४ मा प्रकाशित

आफ्नै विवरणपत्रको मजाक उडाउँदै कम्पनीका वित्तीय विवरण, पछिल्ला ५ आइपिओ निष्कासन गरेका कम्पनीको यस्तो छ लेखाजोखा

आइपिओ निष्कासन गर्ने बेला कम्पनीहरु लगानीकर्तालाई आकर्षित गर्न प्रोस्पेक्टस अर्थात विवरणपत्र प्रकाशित गर्ने गर्दछन् । कम्पनीको भविष्यको प्रक्षेपित आम्दानीलगायत विवरण समावेश गरिने त्यस्ता विवरणपत्र र यथार्थ वित्तीय विवरणमा भने आकाशपातालको फरक देखिने गरेको छ ।

नेपालको सेयरबजार नियामक धितोपत्र बोर्डलाई नै बुझाएर, बोर्ड मार्फत नै प्रकाशित हुने यस्ता विवरणपत्र झुक्याउने कागजातका रुपमा लगानीकर्ताले लिन थालेका छन् । यसै सन्दर्भमा पछिल्ला ५ आइपिओ निष्कासन गरेका कम्पनीको विवरणपत्र र उनीहरुको पछिल्लो त्रैमासिक वित्तीय विवरणको हामीले लेखाजोखा गरेका छौ । पछिल्ला ५ आइपिओ जारी गर्ने कम्पनीमा सर्वोत्तम सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नेपाल वेयरहाउजिङ्ग, मुक्तिनाथ कृषि कम्पनी र भिजन लुम्बिनी उर्जा कम्पनी रहेका छन् ।

सर्वोत्तम सिमेन्टको विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा ठूलै अन्तर

सबैभन्दा पछिल्लो आइपिओ जारी गरेको सर्वोत्तम सिमेन्टको विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा ठूलै अन्तर देखिन्छ । आइपिओ जारी गर्दाको विवरणपत्रमा आव २०८०/८१ का लागि कम्पनीको प्रक्षेपित प्रति सेयर आम्दानी १७.८२, नेटवर्थ २०७.२२ तथा जगेडा तथा कोष ४ अर्ब ९८ करोड ५८ लाख रुपैयाँ रहेको छ । आव २०८०/८१ तेस्रो त्रैमासिक रिपोर्ट अनुसार भने कम्पनीको प्रति सेयर आम्दानी ३.४६, नेटवर्थ २१२.७३ तथा जगेडा तथा कोष ४ अर्ब ९० करोड ४९ लाख रुपैयाँ रहेको छ । आइपिओ जारी गर्दाको प्रिमियमबाट कम्पनीको नेटवर्थ प्रक्षेपित भन्दा धेरै देखिएपनि कम्पनीको आम्दानी भने प्रक्षेपित भन्दा ५.१५ गुणाले कम देखिएको छ ।

हिमालयन रिइन्स्योरेन्सको इपिएस तेस्रो त्रैमासिक रिपोर्ट भन्दा धेरै छ भने संचित मुनाफा प्रक्षेपण गरिए भन्दा कम

हिमालयन रिइन्स्योरेन्सको भने विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा खासै अन्तर देखिदैन । आइपिओ जारी गर्दाको विवरणपत्रमा आव २०८०/८१ का लागि कम्पनीको प्रक्षेपित प्रति सेयर आम्दानी १०.२६, नेटवर्थ १४९.७१ तथा संचित मुनाफा १ अर्ब २ करोड ६४ लाख रुपैयाँ रहेको छ । आव २०८०/८१ तेस्रो त्रैमासिक रिपोर्ट अनुसार भने कम्पनीको प्रति सेयर आम्दानी १२.४१, नेटवर्थ १४९.९७ तथा संचित मुनाफा ७७ करोड ५० लाख रुपैयाँ रहेको छ । कम्पनीको प्रक्षेपित नेटवर्थ र इपिएस तेस्रो त्रैमासिक रिपोर्ट भन्दा धेरै छ भने संचित मुनाफा प्रक्षेपण गरिएभन्दा कम देखिएको छ ।

नेपाल वेयरहाउजिङ्गको विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा आकाश पातालकै अन्तर

यसैगरी नेपाल वेयरहाउजिङ्गको विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा आकाश पातालकै अन्तर देखिन्छ । आइपिओ जारी गर्दाको विवरणपत्रमा आव २०८०/८१ का लागि कम्पनीको प्रक्षेपित प्रति सेयर आम्दानी ५.५२, नेटवर्थ ९३.९६ तथा जगेडा तथा संचित मुनाफा ४ करोड १५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । आव २०८०/८१ तेस्रो त्रैमासिक रिपोर्ट अनुसार भने कम्पनीको प्रति सेयर आम्दानी २२.१७ रुपैयाँले ऋणात्मक, नेटवर्थ ७५.१ तथा जगेडा तथा संचित मुनाफा २० करोड ९ लाख रुपैयाँले ऋणात्मक रहेको छ । विवरण पत्रमा उल्लेखित भन्दा यथार्थ व्यापार र आम्दानी निकै कम हुँदा कम्पनीको आफ्नै व्यापार विश्लेषण र प्रक्षेपण क्षमता निकै कमजोर रहेको बुझ्न सकिन्छ ।

मुक्तिनाथ कृषि कम्पनीको पनि विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा राम्रै अन्तर 

मुक्तिनाथ कृषि कम्पनीको पनि विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा राम्रै अन्तर देखिन्छ । आइपिओ जारी गर्दाको विवरणपत्रमा आव २०८०/८१ का लागि कम्पनीको प्रक्षेपित प्रति सेयर आम्दानी ८.७३, नेटवर्थ १०१.१८ तथा संचित मुनाफा ७२ लाख रुपैयाँ रहेको छ । आव २०८०/८१ तेस्रो त्रैमासिक रिपोर्ट अनुसार भने कम्पनीको प्रति सेयर आम्दानी ४.०५ रुपैयाँ, नेटवर्थ ९३.७५ तथा संचित मुनाफा ४ करोड ३७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।

भिजन लुम्बिनी उर्जाको पनि विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा राम्रै अन्तर

अन्य व्यवसायभन्दा तुलनात्मक रुपमा स्थिर आम्दानी रहने हाइड्रोपावर कम्पनीहरुले पनि निकै अप्टिमिस्टिक विवरणपत्र प्रकाशित गरेको पाइएको छ । भिजन लुम्बिनी उर्जाको पनि विवरणपत्र र तेस्रो त्रैमासिक वित्तीय विवरणको समीक्षा गर्दा राम्रै अन्तर देखिन्छ । आइपिओ जारी गर्दाको विवरणपत्रमा आव २०८०/८१ का लागि कम्पनीको प्रक्षेपित प्रति सेयर आम्दानी १५.३१, नेटवर्थ १४७.१४ तथा संचित मुनाफा ९० करोड १५ लाख रुपैयाँ रहेको छ । आव २०८०/८१ तेस्रो त्रैमासिक रिपोर्ट अनुसार भने कम्पनीको प्रति सेयर आम्दानी ९.२६ रुपैयाँ, नेटवर्थ १३८.०१ तथा संचित मुनाफा ७२ करोड ६९ लाख रुपैयाँ रहेको छ ।

उसो त चौथो त्रैसामसम्ममा यी कम्पनीको वित्तीय अवस्थामा केही परिवर्तन देखिन सकिन्छ तर पनि प्रक्षेपित लक्ष्यसम्म पुग्न भने अब कायापलटकै अपेक्षा गर्नुपर्ने हुन्छ । यसरी हेर्दा सार्वजनिक निष्कासनपूर्व लगानीकर्ता लोभ्याउन आकर्षक विवरण पेश गर्ने र वास्तविक अवस्था भने बिस्तारै देखाउँदै जाने कम्पनीहरुको व्यवहार देखिन्छ । नियामक निकायलेसमेत आँखा चिम्लिदिँदा लगानीकर्ताले प्रिमियम मूल्य तिरेका कम्पनीहरुमा समेत वैधानिक ठगी भएको बुझ्न सकिन्छ ।

व्यापारमा सानोतिनो उतारचढाव सामान्य मानिए पनि प्रक्षेपण भन्दा निकै कमजोर प्रदर्शन लगानीकर्ताको आँखामा छारो हालेको वा कम्पनीको प्रक्षेपण क्षमता नै निकै कमजोर भएको जानकारको विश्लेषण छ । यसकारण लगानीकर्ताको हक अधिकारलाई सम्मान गर्दै वास्तविक विवरण लुकाउने वा अनावश्यक आशावादी विवरण सार्वजनिक गर्ने कम्पनीलाई कारवाही गर्न समेत नियामक निकायलाई जानकारहरुले जोडदार माग गरेका छन्। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको