नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।
भारतीय आयल कर्पोरेसनबाट आज प्राप्त नयाँ मूल्य सूची अनुसार नेपालमा पेट्रोलमा प्रति लिटर तीन रुपैयाँ र डिजेल/मट्टितेलमा प्रति लिटरमा एक रुपैयाँ घटाइएको हो । नयाँ मूल्य शनिबार मध्यरातदेखि लागू हुने निगमले जनाएको छ ।
निगमले पेट्रोलियम पदार्थको मूल्य देशभरका विभिन्न ठाउँमा दूरी अनुसार फरक फरक मूल्य कायम गर्दै आएको छ । पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६५.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १६७ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १६८ रुपैयाँ कायम भएको छ ।
यसैगरी डिजेल र मट्टीतेलको पहिलो वर्गअन्तर्गत झापा, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ । दोस्रो वर्ग सुर्खेत र दाङअन्तर्गतका क्षेत्रमा पेट्रोल १५२ रुपैयाँ र तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दीपायल अन्तर्गतका क्षेत्रमा प्रतिलिटर पेट्रोल १५३ रुपैयाँ कायम भएको छ ।
आयल निगमले हरेक १५ दिनमा नयाँ मूल्यसूची प्राप्त गर्ने गर्दछ । सोही बमोजिम नेपाली बजारमा पेट्रोलियम पदार्थको मूल्य समायोजन हुने गरेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस