Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले एकैपटक गर्यो ८ बैंक तथा वित्तिय संस्थालाई कारबाही

अर्थ संसार

विहीबार, ०३ साउन २०८१, ०८ : ४९ मा प्रकाशित

राष्ट्र बैंकले एकैपटक गर्यो ८ बैंक तथा वित्तिय संस्थालाई कारबाही

नेपाल राष्ट्र बैंकले पाँचवटा विकास बैंक र तीनवटा फाइनान्सलाई कारबाही गरेको छ। राष्ट्र बैंकको वित्तीय संस्था सुपरिवेक्षण विभागले गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अवधिमा ऐन विपरित कार्य गर्ने भन्दै विभिन्न बैंकका अध्यक्ष, सञ्चालक र प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई कारवाही गरेको हो ।

कर्णाली डेभलपमेन्ट बैंकले केन्द्रिय बैंकको निर्देशन बमोजिम अनिवार्य मौज्दात कायम नगरेको भन्दै  बैंकलाई २ हजार ५४६.७२ रुपैयाँ जरिवाना गरेको छ। 

तेस्तै,नारायणी डेभलपमेन्ट बैंकलाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क) बमोजिम संस्थालाई वि.सं २०८० माघ २१ गते गरिएको शीघ्र सुधारात्मक कारवाहीलाई निरन्तरता दिइएको छ ।

यस्तै राष्ट्र बैंकले कर्पाेरेट डेभलपमेन्ट बैंक, एक्सेल डेभलपमेण्ट बैंक, बेष्ट फाइनान्स, रिलायन्स फाइनान्सको सञ्चालक समितिलाई सचेत गराएको छ। यो वित्तीय संस्थाहरुले आफ्नो वासलात तथा नाफा-नोक्सान हिसाबको विवरण ढिलो पेस गरेको, सर्वसाधारणा लागि ढिला सार्वजनिक गरेको, राष्ट्र बैंकको एकीकृत निर्देशन तथा कम्पनी ऐनविपरित वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र (म्याद थप सहित) लेखापरीक्षण सम्पन्न नगरेको र वार्षिक साधारणसभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानूनी तथा नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेपछि राष्ट्र बैंकले सचेत गराएको हो। 

तेस्तै केन्द्रिय बैंकले प्रोग्रेसिभ फाइनान्सले तोकिएको समयमा वाह्य लेखापरीक्षण सम्पन्न नगरेर वार्षिक साधारण सभा सम्पन्न गर्नुपर्नेमा आर्थिक वर्ष २०७८/७९ को वार्षिक साधारण सभा आर्थिक वर्ष २०८०/८१ मा सम्पन्न गरेको र आर्थिक वर्ष २०७९/८० को वाह्य लेखापरीक्षण प्रतिवेदन प्रकाशन गर्न सहमतिका लागि हालसम्म राष्ट्र बैंकमा पेस नगरेको हुँदा सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराएको छ। 


तेस्तै सिन्धु विकास बैंकले वि.सं २०८१ असार ११ गते पठाएको वित्तीय विवरण अनुसार सुपरिवेक्षकीय समायोजन पश्चात संस्थाको पुँजीकोष अनुपात ६.७१ भई कायम गर्नुपर्ने न्यूनतम पुँजीकोष अनुपात ३२.९० प्रतिशतले नपुग भएको हुँदा बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ख) बमोजिम शीघ्र सुधारात्मक कारवाही गरिएको छ ।

सिन्धु बैंकले एकीकृत निर्देशनको व्यबस्था विपरित चेक खरिद गरको, चेकलाई धितोको रूपमा लिएको र सो चेकको आधारमा २ करोड ५० लाख रुपैयाँ बराबरको सेयर धितो फुकवा गर्ने निर्णय सञ्चालक समितिबाट गराएको, व्यक्तिगत जमानीमा ऋण प्रवाह गरिएका ४ वटा ऋणीहरुलाई प्रवाह गरिएको कर्जाको साधारण व्याज समेत मिनाह गरी साँवा रकम मात्र असुल उपर गर्ने सञ्चालक समितिको निर्णयबाट संस्थालाई हानी पुगेको र यसबाट लगानीकर्ता, निक्षेपकर्ता तथा सर्वसाधारणको हित विपरीतका कार्यहरू भएको हुँदा संस्थाको अध्यक्षको हैसियतले त्यस्तो कार्यहरु हुन नदिन प्रयास गरेको नदेखिएको, राष्ट्र बैंकको निर्देशन विपरित बैंकमा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरीएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैह्र–जिम्मेवारीपूर्ण तर्क पेस गरेको तथा बैंक सुधारका लागि पटक–पटक दिइएका निर्देशनहरू पालना नगरेकोले सञ्चालक समितिका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई ५ लाख रुपैयाँ जरिवाना समेत गराएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको