Like us!
Follow us!
Connect us!
Watch us!

सार्वजनिक ऋणको भारले थिचिँदै नेपाली: प्रतिव्यक्ति ८६ हजारको भारी

अर्थ संसार

शनिबार, १९ असोज २०८१, १५ : २५ मा प्रकाशित

सार्वजनिक ऋणको भारले थिचिँदै नेपाली: प्रतिव्यक्ति ८६ हजारको भारी

सरकारको तिर्न बाँकी सार्वजनिक ऋण साढे २५ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको मासिक प्रतिवेदनको पछिल्लो तथ्यांकअनुसार  सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब रुपैयाँ पुगेको देखाएको हो । 

पछिल्ला वर्षमा सार्वजनिक ऋण उच्च दरले बढेको छ । सार्वजनिक ऋण बढेसँगै आम नागरिकको थाप्लोमा बर्सेनि सार्वजनिक ऋणको भारी थपिँदो छ । सामाजिक र भौतिक विकासका लागि विकास साझेदारबाट प्राप्त हुने सार्वजनिक ऋणको सावाँ र ब्याजको आकार झाँगिइसकेको छ ।

यस्तो ऋण प्रतिव्यक्ति ८६ हजार रुपैयाँ नाघिसकेको छ भने कुल गार्हस्थ उत्पादन (जीडीपी) को तुलनामा ४४.३२ प्रतिशत सार्वजनिक ऋणको हिस्सा पुगेको छ । 

चालु आर्थिक वार्ष २०८१/०८२ को दुई महिना (साउन र भदौ)मा  मात्रै नेपालले १ खर्ब ४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ ।यो दुई महिनामा नेपालले १४ अर्ब ५ करोड रुपैयाँ सार्वजनिक ऋण तिरेको छ । दुई महिनामा विदेशी मुद्राको उचारचढावबाट नेपालले तिर्नुपर्ने ऋण ३० अर्ब १४ करोड रुपैयाँ बढेको हो । समग्रमा दुई महिनामा नेपालको तिर्नुपर्ने सार्वजनिक ऋण ९४ अर्ब ५२ करोड रुपैयाँ थपिएको छ । गत आव २०८०/०८१ को असार मसान्तसम्म नेपालले तिर्न बाँकी रहेको कुल सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब ९ करोड रुपैयाँ थियो ।

यो दुई महिनामा थपिएको जोड्दा भदौ मसान्तसम्ममा नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २५ खर्ब २८ अर्ब ६२ करोड रुपैयाँ पुगेको हो । 

लक्ष्यको १९.०२ प्रतिशत परिचालन

नेपालले चालु आवमा ५ खर्ब ४७ अर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ । जसमध्ये साउन र भदौ महिनामा त्यसको १९.०२ प्रतिशत मात्र प्राप्ति गरेको छ ।

आन्तरिक ऋण ३ खर्ब ३० अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा हालसम्म लक्ष्यको २७.२७ प्रतिशत अर्थात ९० अर्ब रुपैयाँ प्राप्ति भएको छ । यसैगरी, बाह्यतर्फ २ खर्ब १७ अर्ब रुपैयाँ परिचालन गर्ने लक्ष्य लिएकोमा यो दुई महिनामा १४ अर्ब ५ करोड अर्थात ६.४८ प्रतिशत प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ ।

लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी

सरकारले चालु आवमा ४ खर्ब २ अर्ब रुपैयाँ सार्वजनिक ऋण तिर्ने लक्ष्य लिएको छ । जसमध्ये यो दुई महिनामा ४७ अर्ब ७१ करोड ५१ लाख रुपैयाँ भुक्तानी दिएको छ । अर्थात् लक्ष्यको ११.८४ प्रतिशत भुक्तानी दिएको कार्यालयले जनाएको छ ।

सरकारले आन्तरिकतर्फ ३ खर्ब ३६ अर्ब ९५ करोड ४४ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये दुई महिनामा ४२ अर्ब २ करोड ९१ लाख रुपैयाँ भुक्तानी गरेको छ । अर्थात् आन्तरिकतर्फ नेपाल सरकारले लक्ष्यको १२.४७ प्रतिशत भुक्तानी दिएको छ ।

यसैगरी, बाह्यतर्फ ६५ अर्ब ८९ करोड ८२ लाख रुपैयाँ भुक्तानी दिने लक्ष्य लिएको छ । जसमध्ये ८.६३ अर्थात ५ अर्ब ६८ करोड ६० लाख रुपैयाँ भुक्तानी दिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको