Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च,राष्ट्र बैंकसँग छ साढे २१ खर्ब बराबरको विदेशी मुद्रा

अर्थ संसार

मंगलबार, २९ असोज २०८१, १७ : २४ मा प्रकाशित

विदेशी मुद्राको सञ्चिति हालसम्मकै उच्च,राष्ट्र बैंकसँग छ साढे २१ खर्ब बराबरको विदेशी मुद्रा

मुलुकको विदेशी मुद्रा सञ्चितिमा नयाँ रेकर्ड बन्ने क्रम जारी छ । राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेदनका अनुसार भदौ मसान्तसम्ममा विदेशी मुद्रा सञ्चिति राष्ट्र बैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति ५.५ प्रतिशत बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । जुन नेपालको कुल बजेटभन्दा ३ खर्ब रुपैयाँले बढी हो । चालु आर्थिक वर्षको सरकारको बजेट १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको छ । 

रेमिट्यान्स निरन्तर बढिरहेको, पर्यटन क्षेत्र तंग्रिन थालेको, आयात लगातार घटिरहेको लगायत कारण विदेशी मुद्रा सञ्चितिले निरन्तर नयाँ रेकर्ड बनाउँदै आएको हो ।

गत असारसम्म विदेशी मुद्राको सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असारसम्म १५ अर्ब २७ करोड रहेकोमा २ महिनामा ५.० प्रतिशत बढेर १६ अर्ब ४ करोड पुगेको छ ।

कुल विदेशी मुद्रा सञ्चितिमध्ये राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म राष्ट्र बैंकसँग १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ थियो । भदौसम्म बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी मुद्रा सञ्चिति १६.१ प्रतिशत बढेर २ खर्ब २३ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंक तथा वित्तीय संस्थासँग १ खर्ब ९२ अर्ब ५५ करोड रुपैयाँ थियो ।

भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ ।

विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३७.७ प्रतिशत, ११४.४ प्रतिशत र ३०.८ प्रतिशत रहेका छन् ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको