साञ्जेन जलविद्युत् आयोजनाको बिजुली अब राष्ट्रिय प्रणालीमा औपचारिक रूपमा जोडिएको छ। चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेड ले उक्त आयोजना निर्माण गरेको हो। प्राविधिक परीक्षण पूरा गरेपछि सोमबार साँझदेखि साञ्जेनबाट उत्पादित विद्युत् राष्ट्रिय ग्रिडमा प्रवाह गरिएको हो।
रसुवाको आमाछोदिङ्मो–५ मा निर्माण सम्पन्न भएको यो आयोजनाको कुल उत्पादन क्षमता ४२.५ मेगावाट रहेको छ। आयोजनाले गत मंसिर ८ गतेदेखि परीक्षण उत्पादन सुरु गरेको थियो। यसअघि सीमित क्षमता अनुसार ११ केभी प्रसारण लाइन मार्फत विद्युत् आपूर्ति गरिरहेको यो आयोजनाले अब व्यावसायिक उत्पादन सुरु गरेको छ।
‘क्यास्केड मोडल’मा आधारित यस जलविद्युत् आयोजनाका दुई प्रमुख खण्डमध्ये साञ्जेन (माथिल्लो) आयोजना यसअघि नै राष्ट्रिय प्रणालीमा जोडिएको थियो। १३२/११ केभी सबस्टेसन र आठ किलोमिटर डबल सर्किट प्रसारण लाइन कम्पनीले आफैं निर्माण गरेको थियो, जसका कारण बिजुली आपूर्ति सहज भएको हो।
निर्माणको क्रममा विभिन्न चुनौतीहरूको सामना गर्नुपरेको आयोजनाले, २०७२ सालको भूकम्प, कोभिड–१९ महामारी, नाकाबन्दी र प्रसारण लाइनको अभावले गर्दा निर्धारित समयभन्दा ढिला सम्पन्न भएको जानकारी दिएको छ। तथापि, हालै सम्पन्न चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइनका कारण आयोजनाको विद्युत् आपूर्ति अब पूर्ण क्षमतामा सम्भव भएको छ।
विशेष प्रविधिको प्रयोग गर्दै निर्माण भएको यो आयोजना नेपालकै पहिलो नमुना क्यास्केड परियोजना बनेको छ। पिकिङ पोखरी निर्माण यसको अर्को महत्वपूर्ण विशेषता हो। यो पोखरीले करिब ४४ हजार घनमिटर पानी संकलन गर्न सक्छ, जसबाट साँझको समयमा विद्युत् माग उच्च भएको बेला थप बिजुली उत्पादन गरी राष्ट्रिय प्रणालीलाई ७० मिनेटसम्म सहज बनाउन सकिन्छ।
साञ्जेन (माथिल्लो) आयोजना मर्मतसम्भारको समयमा पनि तल्लो आयोजनाले विद्युत् उत्पादन निरन्तर गर्न सकिने प्रविधि जडान गरिएको छ। यस्तो प्रविधि नेपालमा पहिलो पटक प्रयोग गरिएको हो, जसले भविष्यका अन्य क्यास्केड आयोजनाहरूमा पनि प्रभावकारी परिणाम दिन सक्छ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्पणबहादुर सिंहका अनुसार यो आयोजनाले हिउँदको समयमा हुने विद्युत् असन्तुलनलाई केही हदसम्म सम्बोधन गर्नेछ। साथै, आधुनिक प्रविधिको प्रयोगले मर्मतसम्भारको खर्च घटाउनुका साथै आर्थिक क्षति पनि रोक्न मद्दत पुग्ने बताइएको छ।
नमुना आयोजनाको रूपमा साञ्जेन जलविद्युत् परियोजना अध्ययन अनुसन्धानका लागि पनि उपयोगी रहेको छ। जलविद्युत् विकास, नवीकरणीय ऊर्जा र हाइड्रोलोजीमा अध्ययनरत विद्यार्थीहरूका लागि यो आयोजना उपयोगी प्रयोगशालाको रूपमा प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ।
यस आयोजनाको व्यावसायिक उत्पादनले नेपालमा बढ्दो ऊर्जा माग पूरा गर्न योगदान पुर्याउनुका साथै दीर्घकालीन रूपमा ऊर्जा क्षेत्रमा नयाँ प्रविधिहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस