चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा हाइड्रोपावर कम्पनीहरुले ३ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेका छन् ।
जुन गत आर्थिक वर्षको तुलनामा ४२.५९ प्रतिशतले बढी हो । गत वर्षको सोही अवधिमा हाइड्रोपावर कम्पनीहरुले २ अर्ब ७३ करोड रुपैयाँ नाफा कमाएका थिए ।
६ महिनामा हाइड्रोपावर कम्पनीले साढे २१ अर्बको बिजुली बेचेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने ८.२२ प्रतिशत बढी हो । गत आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीहरुले १९ अर्ब ८६ करोड रुपैयाँको विद्युत बिक्री गरेका थिए ।
यो अवधिमा २९ वटा कम्पनीको विद्युत बिक्री घटेको छ भने ४४ कम्पनीको बढेको छ । ८ वटा आयोजनाले विद्युत उत्पादन सुरु गरेका छन्।
सर्वाधिक विद्युत बिक्री गर्ने कम्पनी
चालु आर्थिक वर्षको ६ महिनामा अपर तामाकोशी हाइड्रोपावरले ३ अर्ब ३४ करोड रुपैयाँको विद्युत बिक्री गरेको छ । उक्त विद्युत बिक्री भने गत वर्षको सोहि अवधिको भन्दा ३७.४८ प्रतिशतले कम हो ।
बाढीले गर्दा आयोजना बन्द गर्नु पर्ने अवस्था सिर्जना भएको हुँदा विद्युत बिक्री आम्दानी प्रभावित बन्न पुगेको हो ।
साहस उर्जाले पछिल्लो ६ महिनामा १ अर्ब ६१ करोड रुपैयाँको विद्युत बिक्री गरेको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ५३ करोड रुपैयाँको विद्युत बिक्री गरेको थियो ।
सानिमा मिडिल तमोरले १ अर्ब ७ करोड ३ लाख रुपैयाँको विद्युत बिक्री गरेको छ ।
अन्य कुन कम्पनीको अवस्था कस्तो ?
यो अवधिमा ग्रिन भेन्र्चसले ९९ करोड ५८ लाख, अपि पावरले ८५ करोड ८० लाख, माउन्टेन इनर्जीले ७९ करोड ८१ लाख, चिलिमे हाइड्रोपावरले ६४ करोड ९ लाख, सुपर मादी हाइड्रोपावरले ६० करोड ६० लाख र पिपुल्स हाइड्रोपावरले ५३ करोड ३७ लाख रुपैयाँ विद्युत बिक्री गरेका छन् ।अरुण भ्याली हाइड्रोपावरले आफ्नो विद्युत बिक्री ३४१.२६ प्रतिशतले बढाएर १४ करोड १२ लाख रुपैयाँ पुराएको छ । गत आर्थिक वर्ष कम्पनीको उक्त विद्युत बिक्री ३ करोड २० लाख रुपैयाँमा सीमित थियो ।
चुक्ता पुँजी
हाइड्रोपावर कम्पनीहरुको समग्र चुक्ता पुँजी १ खर्ब ६० अर्ब ९५ करोड ६९ लाख रुपैयाँ भन्दा बढी छ ।
जसमध्ये सबैभन्दा धेरै अपर तामाशीको देखिएको छ । यसको चुक्ता पुँजी २१ अर्ब १८ करोड रुपैयाँ रहेको छ ।
चिलिमेको ८ अर्ब ७८ करोड, रसुवागढीको ६ अर्ब ८४ करोड २१ लाख, अपि पावरको ६ अर्ब ७ करोड ५९८ लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ । सबैभन्दा कम भने कुथेली बुखरी स्मल हाइड्रोपावरको १२ करोड १८ लाख रुपैयाँ बराबरको पुँजी देखिएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस