आर्थिक वर्ष २०८१/८२ को सात महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप तथा कर्जा प्रवाहमा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ३.८ प्रतिशतले वृद्धि भई रु. २४५ अर्ब ३४ करोडले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ७ प्रतिशत अर्थात् रु. ३९७ अर्ब २० करोड रहेको थियो। वार्षिक आधारमा २०८१ माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ९.७ प्रतिशतले बढेको छ।
बैंकिङ प्रणालीमा रहेका निक्षेपहरूमध्ये २०८१ माघ मसान्तमा चल्ती खाताको अंश ५.२ प्रतिशत, बचत खाताको अंश ३४.८ प्रतिशत र मुद्दती खाताको अंश ५२.४ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरू क्रमशः ६.२ प्रतिशत, २७.४ प्रतिशत र ५९.८ प्रतिशत थिए।
बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ५.६ प्रतिशतले बढेर रु. २८३ अर्ब ४६ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो वृद्धि ४.१ प्रतिशत अर्थात् रु. १९७ अर्ब २१ करोड रहेको थियो। वार्षिक बिन्दुगत आधारमा हेर्दा, २०८१ माघ मसान्तमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको देखिन्छ।
निजी क्षेत्रतर्फ प्रवाहित कुल कर्जामध्ये ६३.८ प्रतिशत गैर–वित्तीय संस्थागत क्षेत्रले लिएको छ भने व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाहित कर्जाको अंश ३६.२ प्रतिशत रहेको छ।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूबाट प्रवाहित कर्जा ५.९ प्रतिशतले, विकास बैंकहरूबाट ३.१ प्रतिशतले र वित्त कम्पनीहरूको कर्जा प्रवाह ५.२ प्रतिशतले बढेको छ।
बैंक तथा वित्तीय संस्थाहरूले प्रवाहित गरेको कुल कर्जामध्ये चालु सम्पत्तिको सुरक्षणमा १४.४ प्रतिशत तथा घर-जग्गा धितो सुरक्षणमा ६५.१ प्रतिशत रहेको छ।
औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा ९.५ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा ९.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा ४.४ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा ६.७ प्रतिशतले, सेवा उद्योग क्षेत्रतर्फको कर्जा ७.० प्रतिशतले तथा उपभोग्य क्षेत्रतर्फको कर्जा ५.९ प्रतिशतले वृद्धि भएको छ।
समीक्षा अवधिमा विभिन्न प्रकारका कर्जाहरूमा पनि वृद्धि देखिएको छ। आवधिक कर्जा ३.६ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा २७.८ प्रतिशत, ट्रस्ट रिसिट (आयात) कर्जा ६९.५ प्रतिशत, हायर पर्चेज कर्जा ४.५ प्रतिशत, नगद प्रवाह कर्जा ३.७ प्रतिशत तथा रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ३.२ प्रतिशतले बढेको छ। तर, अधिविकर्ष कर्जा भने १२.४ प्रतिशतले घटेको देखिएको छ।
बैंक तथा वित्तीय संस्थाहरूको कर्जा प्रवाहमा देखिएको वृद्धि मुलुकको आर्थिक गतिविधि विस्तारको संकेत भए पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त देखिनु वित्तीय प्रणालीका लागि चुनौती हुनसक्ने विश्लेषकहरू बताउँछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस