Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको शिक्षामा ‘डर्टी ह्यान्ड्स’? सुमना श्रेष्ठको कडा सन्देश

अर्थ संसार

सोमबार, १८ चैत्र २०८१, ०७ : ५५ मा प्रकाशित

नेपालको शिक्षामा ‘डर्टी ह्यान्ड्स’? सुमना श्रेष्ठको कडा सन्देश

त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति धर्मकान्त बरालले अन्ततः आफ्नो पदबाट राजीनामा दिएका छन्। पूर्व शिक्षा मन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत यो घटनाप्रति प्रतिक्रिया दिँदै उच्च शिक्षामा भइरहेको राजनीतिक हस्तक्षेपको कडा आलोचना गरेकी छन्।

श्रेष्ठले आफ्नो फेसबुक स्टाटसमा उपकुलपति बरालसँगको सहकार्य स्मरण गर्दै त्रिविमा भागबन्डा संस्कृतिविरुद्ध लड्न आफूहरूले गरेको प्रयासबारे उल्लेख गरेकी छन्। उनले भनेकी छन्, "बराल सर नियुक्त भएको केही समयपछि मैले शिक्षा मन्त्रालय सम्हाल्ने अवसर पाएँ। उच्च शिक्षामा राजनीतिक हस्तक्षेप हुन नदिने हाम्रो सहमति थियो।"

उनले त्रिवि नेतृत्व छान्ने क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भागबन्डाको प्रस्ताव ल्याएको र आफूहरूले त्यसको विरोध गरेको खुलासा गरिन्। "हामीले भनेका थियौँ, बरू राजीनामा दिन्छौँ तर भागबन्डा स्वीकार्य हुँदैन," श्रेष्ठले लेखेकी छन्।

बराल नेतृत्वको टिमले त्रिविमा सुधारका विभिन्न काम थालेको स्मरण गर्दै उनले परीक्षा प्रणाली सुधार, सेवा आयोगका परीक्षा सञ्चालन, नतिजा प्रकाशनको समय तालिका निर्धारण, प्रश्नपत्रको नेपाली र अंग्रेजी भाषामा प्रकाशन तथा अनलाइन ट्रान्सक्रिप्ट प्रणाली जस्ता महत्वपूर्ण कार्यहरू अघि बढाइएको बताइन्।

श्रेष्ठले बरालको राजीनामा आउनु पछाडि राजनीतिक दबाब रहेको संकेत गर्दै भनिन्, "हाम्रोमा कसरी काम गर्न दिँदैनन्, कता-कताबाट कस्तो दबाब आउँछ भन्ने अनुभव साझा हुनु जरुरी छ, ताकि यो संघर्ष जारी रहोस्।"

उनले नेपालको शैक्षिक प्रणालीमा राजनीतिक हस्तक्षेपलाई मूल समस्या भन्दै योग्य, सक्षम र निष्ठावान व्यक्तिहरूलाई विश्वविद्यालय नेतृत्वमा नपुग्न दिइएको आरोप लगाइन्। पोखरा विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र CTEVT मा भागबन्डाका आधारमा गरिएको नियुक्तिप्रति असन्तुष्टि जनाउँदै उनले उच्च शिक्षालाई निजीकरण गर्न खोजिएको आरोप लगाइन्।

राजनीतिक हस्तक्षेपका कारण नेपाली विद्यार्थीको भविष्य जोखिममा परेको भन्दै श्रेष्ठले अभिभावकहरूलाई समेत जागरुक हुन आह्वान गरिन्। प्रधानमन्त्रीलाई इंगित गर्दै उनले भनिन्, "यदि म गलत छु भने, तपाईं अहिले देशभरका विश्वविद्यालयको कुलपति हुनुहुन्छ – देखाइदिनुस्, तपाईंले चाहेको उच्च शिक्षा कस्तो हो, युवाहरूलाई रोजगारमूलक शिक्षा कसरी दिनुहुन्छ?"

उनको स्टाटसको अन्त्यमा उनले शिक्षा क्षेत्रबाट राजनीतिक हस्तक्षेप हटाउनुपर्ने माग गर्दै अंग्रेजीमा लेखेकी छन् – Get your dirty hands out of the education sector. #nopoliticsineducation

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Laaj sharanam

सम्बन्धित खबर

धेरै पढिएको