नेपाल चिकित्सक संघले आवासीय चिकित्सकसम्बन्धी माग पुरा गराउन दबाब स्वरूप भोलि (बिहीबार) देशभरका जिल्ला प्रशासन कार्यालय तथा काठमाडौंको स्वास्थ्य मन्त्रालय घेराउ गर्ने निर्णय गरेको छ। संघले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत उपत्यका भित्र र बाहिर कार्यरत सम्पूर्ण चिकित्सकलाई उक्त कार्यक्रममा सहभागी हुन निर्देशन दिएको हो।
संघका कार्यकारी सदस्य डा. तेत्छु मल्लका अनुसार उपत्यका बाहिर रहेका चिकित्सकहरुले बिहान १० देखि १२ बजेसम्म आ-आफ्नो जिल्लास्थित प्रमुख जिल्ला अधिकारीको कार्यालय घेराउ गर्ने छन् भने उपत्यकाभित्रका चिकित्सकहरू माइतीघरमा भेला भएर स्वास्थ्य मन्त्रालयतर्फ प्रदर्शन गर्दै जानेछन्।
संघले माग पुरा नभए कडा कदम चाल्ने चेतावनी समेत दिएको छ। २४ घन्टाभित्र माग सम्बोधन नभए आकस्मिक सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने तयारी गरिएको छ।
विवादको जरो भने चिकित्सा शिक्षा आयोगको २५ माघमा बसेको १६ औं बैठकको निर्णय हो। उक्त बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौं तहको तलब सुविधा उपलब्ध गराउन निर्देशन दिएको थियो। तर, निजी मेडिकल कलेजहरूले उक्त निर्देशनको अवज्ञा गरेका छन्।
संघले निजी मेडिकल कलेजहरूलाई एमबीबीएस र बीडीएसको सिट संख्या तथा शुल्क वृद्धि गर्नका लागि नाफामुखी चलखेल गरेको आरोप पनि लगाएको छ। डा. मल्लले भने, "२८ दिनसम्म आवासीय चिकित्सक सडकमा उत्रिएर आवाज उठाउँदा पनि सरकार उदासीन बनेको छ।"
उनले थपे, "चिकित्सा शिक्षा आयोगले सरकारी तथा निजी संस्थानहरूमा एउटै म्याचिङ प्रक्रिया लागू नगरेकाले समस्या थपिएको हो। १६ औं बैठकको निर्णय तत्काल कार्यान्वयन गरिनु आवश्यक छ।"
नेपाल चिकित्सक संघले सरकारसँग अविलम्ब वार्ताका लागि पहल गर्न आग्रह गर्दै चिकित्सकको सम्मान र हकहित सुनिश्चित गर्न माग गरेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस