नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय प्रणालीमा कडाइ गर्दै तीन विकास बैंक, दुई फाइनान्स कम्पनी र एक पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध कडा निगरानी र कारवाही थालेको छ। केन्द्रीय बैंकले पोखरा फाइनान्स र जानकी फाइनान्सलाई शीघ्र सुधारात्मक कारवाहीमा राखेको छ भने मुक्तिनाथ, नारायणी र साल्पा विकास बैंकलाई सचेत गराएको छ।
सबैभन्दा कडा कारवाही पोखरा फाइनान्सका पूर्व सीईओ रविचन्द्र गुरुङमाथि भएको छ, जसलाई पाँच लाख रुपैयाँ जरिवाना तिराएर पदबाट हटाइएको छ।
पोखरा फाइनान्स : मौज्दातको लापरवाही र व्यवस्थापनको गम्भीर त्रुटि
राष्ट्र बैंकको निरीक्षण प्रतिवेदन अनुसार, पोखरा फाइनान्सले २०८१ माघ १३ देखि २६ गतेसम्मको अवधिमा अनिवार्य मौज्दात रकम कायम गर्न असफल भएको थियो। त्यसकै कारण संस्थालाई ४६ हजार ७१८ रुपैयाँ २३ पैसा नगद जरिवाना तिराइएको छ।
पूर्व सीईओ रविचन्द्र गुरुङले समग्र व्यवस्थापनको प्रमुख जिम्मेवारी वहन गर्ने व्यक्तिका रूपमा नियामक निर्देशन पालना नगरेको, र राष्ट्र बैंकले सोधेको स्पष्टिकरण पनि असन्तोषजनक भएको जनाइएको छ। यही आधारमा उनलाई राष्ट्र बैंक ऐन, दफा १०० को उपदफा २ (ग) अनुसार ५ लाख रुपैयाँ जरिवाना गरिएको हो।
गुरुङको स्थानमा सञ्चालक समितिले फागुन २६ गते बसेको बैठकमा प्रकाश गुरुङलाई नयाँ सीईओ नियुक्त गरेको छ, जसको कार्यकाल चैत १ गतेदेखि लागू भएको हो।
कम्पनीलाई नयाँ कर्जा तथा निक्षेप खाता खोल्न रोक लगाइएको छ।
मुक्तिनाथ, नारायणी र साल्पा विकास बैंकलाई सचेत
मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल भवन निर्माण समितिको संयोजकका रूपमा सहभागी भएको पाइएको थियो। यो राष्ट्र बैंकको निर्देशन विपरीत भएकाले उनलाई सचेत गराइएको हो।
नारायणी विकास बैंकले तोकिएको न्यूनतम पूँजी, निक्षेप संकलन सीमा, एकल ग्राहक कर्जा सीमा लगायत निर्देशनहरु उल्लङ्घन गरेको पाइएपछि तत्काल सुधार गर्न लिखित आदेश दिइएको छ। संस्थालाई २०८२ असार मसान्तसम्म पूँजी र पूँजीकोष अनुपात अनिवार्य रूपमा कायम गर्न भनिएको छ।
साल्पा विकास बैंकले पनि अझैसम्म न्यूनतम चुक्तापुँजी कायम नगरेकाले सञ्चालक समितिलाई नसिहत दिइएको हो।
जानकी फाइनान्स पनि सुधारात्मक कारवाहीमा
जानकी फाइनान्सको पुँजीकोष अनुपात नियामकीय मापदण्डअनुसार नरहेकोले राष्ट्र बैंकले कम्पनीमाथि शीघ्र सुधारात्मक कारवाही थालेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस