नेपालको राजनीतिक वृत्तमा चलिरहेको सरकार परिवर्तनको चर्चा शनिबार राति प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भएको भेटवार्तापछि केही सेलाएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ७ बजेदेखि राति ९ बजेसम्म दुई घण्टा लामो छलफल भएको थियो। उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलका अनुसार, प्रधानमन्त्री ओली र सभापति देउवाले सत्ता सहकार्यलाई अझ मजबुत बनाउने विषयमा व्यापक छलफल गरेका छन्।
“सरकार परिवर्तनका हल्ला पूर्ण रूपमा गलत र आधारहीन छन् भन्ने दुवै नेताले प्रष्ट पार्नुभएको छ,” पौडेलले बताए।
छलफलमा उपप्रधानमन्त्री पौडेलसँगै गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।
यसअघि पनि जब सभापति देउवा थाइल्यान्डको राजधानी बैंककमा उपचारका क्रममा थिए, त्यतिबेला पनि प्रधानमन्त्री ओलीसँग टेलिफोन संवाद भएको थियो। परराष्ट्रमन्त्री आरजु राणा देउवाका अनुसार, सो टेलिफोन वार्तामा समेत सरकार परिवर्तनका हल्लाबारे स्पष्ट धारणा राखिएको थियो।
शुक्रबार मात्रै देउवा स्वदेश फर्केका हुन्।
प्रधानमन्त्री ओलीले हालैका दिनहरूमा निरन्तर सरकारले पूरा कार्यकाल पूरा गर्ने विश्वास व्यक्त गर्दै आएका छन्। उनले अब १४ महिनापछि नेपाली कांग्रेसलाई सत्ता हस्तान्तरण गरिने बताएका छन्। तर शीर्ष नेताहरूको अभिव्यक्तिहरूले पछिल्लो समय केही शंका उत्पन्न गराएको थियो, जसलाई शनिबारको भेटवार्ताले हटाएको देखिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस