नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले नेपाल समाजवादी पार्टी र नेपाः राष्ट्रिय पार्टीसँग एकता गर्ने निर्णय गरेको छ। आज सोमबार खुमलटारस्थित अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवासमा बसेको बैठकले उक्त दुई पार्टीसँग एकता गर्ने निर्णय गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
त्यसै निर्णयअनुसार, आजै गङ्गानारायण श्रेष्ठ नेतृत्वको समाजवादी पार्टी र विजय सैँजु नेतृत्वको नेपाः राष्ट्रिय पार्टीसँग एकता हुनेछ। बैठकले सुदूरपश्चिम प्रदेशको बैतडीबाट शुरु भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान प्रभावकारी भएको निष्कर्ष निकालेको छ। गण्डकी प्रदेशको कास्कीमा पुगेर पहिलो चरणको अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै प्रवक्ता सापकोटाले छिट्टै पोखराबाट पूर्वतर्फ अभियान सुरू गरिने बताए।
सापकोटाले भने, 'यो अभियान निकै प्रभावकारी रह्यो। जनताको उपस्थिति र आकर्षण गुणात्मक रूपमा बढिरहेको छ। अभियानले राष्ट्रिय एकता, जनतन्त्र, जनजीविका साथै राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा नयाँ सश्लेषणका लागि मजबुद आधार तयार पारेको छ।'
माओवादीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको ‘भिजिट भिसा’ प्रकरणमा गृह मन्त्रालयको नेतृत्व जोडिएको विषय सार्वजनिक भएपछि छानबिनका लागि मार्गप्रशस्त गर्न गृहमन्त्रीलाई आग्रह गरेको पनि प्रवक्ताले उल्लेख गरे। उनले भने, 'स्वतन्त्र र निष्पक्ष छानबिनका लागि गृहमन्त्रीले सहजीकरण गर्नुपर्ने निष्कर्ष निकालेका छौं।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस