Like us!
Follow us!
Connect us!
Watch us!

कुन-कुन वस्तु तथा सेवाको करका दरमा भयो बढी हेरफेर ?

अर्थ संसार

शुक्रबार, १६ जेठ २०८२, १२ : ०८ मा प्रकाशित

कुन-कुन वस्तु तथा सेवाको करका दरमा भयो बढी हेरफेर  ?

सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको आर्थिक विधेयकमार्फत विभिन्न वस्तु तथा सेवामा लाग्ने कर तथा भन्सार दरमा ठूला हेरफेर गरेको छ। आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्न, निजी क्षेत्रको सहभागिता बढाउन तथा वैदेशिक लगानी आकर्षण गर्न सरकारको यो पहल भएको बताइएको छ।

करको दरमा वृद्धि तथा हेरफेर

सूचना प्रविधिमा आधारित उद्योगहरूलाई विशेष उद्योगसरह कर छुट प्रदान गरिएको छ। नेपालबाट विदेशमा सूचना प्रविधि सेवा निर्यात गर्ने व्यक्तिका लागि आयमा ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ भने अब उनीहरूको आम्दानीमा केवल पाँच प्रतिशत आयकर मात्र लाग्नेछ। यस्तै, स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्न वार्षिक १० करोडसम्म कारोबार हुने नयाँ स्टार्टअपहरूलाई पाँच वर्षसम्म आयकरबाट पूर्ण छुट दिइने छ।

सरकारले स्वदेशी उत्पादन र नवप्रवर्तनलाई टेवा दिनका लागि ग्रीन हाइड्रोजन उत्पादन गर्ने उद्योगका लागि आवश्यक उपकरण आयातमा सबै प्रकारका कर हटाएको छ। यस्ता उद्योगलाई पाँच वर्षसम्म आयकर छुट पनि दिइने भएको छ। विद्युतीय सवारीसाधन चार्जिङ मेसिन निर्माण तथा एसेम्बलिङ गर्ने उद्योगलाई पनि एक प्रतिशत मात्र भन्सार महसुल लगाइनेछ र अन्य सबै कर छुट दिइनेछ।  खाद्य सुरक्षा तथा कृषिलाई टेवा दिने उद्देश्यले प्राङ्गारिक मल उत्पादनका लागि चाहिने मिसिनरी तथा उपकरणको आयातमा भन्सार र अन्य सबै करहरू हटाइएको छ। यस्तै, खेलकुद पूर्वाधार निर्माणका लागि आवश्यक सामग्रीहरूमा पनि भन्सार दर घटाइएको छ।

तर, अर्कोतर्फ, सरकारले मदिरा, बियर, चुरोट र सुर्तीजन्य वस्तुहरूमा कर दर बढाएको छ।

सार्वजनिक स्वास्थ्यको दृष्टिकोणले स्वास्थ्य जोखिम करको दायरा समेत विस्तार गरिएको छ। सुर्ती र चुरोटको अन्तःशुल्क मात्र होइन, भन्सार दर समेत उल्लेख्य रूपमा बढाइएको छ। साथै, कतिपय निर्माण सामग्री तथा पशुजन्य वस्तुहरूमा पनि कर वृद्धिको व्यवस्था गरिएको छ।  नयाँ आर्थिक विधेयकमा कर तिर्न ढिलाइ गर्ने करदाताका लागि राहत व्यवस्था पनि गरिएको छ। २०८१ चैत मसान्तसम्म बुझाउनुपर्ने अन्तःशुल्क र विलम्ब शुल्कको ५० प्रतिशत रकम पुस मसान्तभित्र बुझाएमा बाँकी जरिवाना र थप शुल्क मिनाहा गरिनेछ। साथै, आय विवरण नपेस गरेका पुराना करदाताहरूलाई आगामी पुस मसान्तसम्म विवरण पेश गरी कर तिर्न छुट दिइनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको