लगातार स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज (बुधबार) दिउँसो १ बजे बस्ने भएको छ। मंगलबारका लागि तय गरिएको बैठक विपक्षीको अवरोधका कारण नबसी स्थगित भएपछि आजका लागि पुन: बोलाइएको हो।
संसद सचिवालयका अनुसार, आजको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक वर्ष २०८२/८३ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। उक्त प्रस्तावमाथि सामान्य छलफल हुने कार्यसूची समेत तय गरिएको छ। साथै, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय निजामति सेवा विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्ने कार्यक्रम पनि छ।
तर, बैठक सहज रूपमा अघि बढ्ने कि नबढ्ने भन्ने विषय भने अन्योलमै छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टीलगायत विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन्। उनीहरूले गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै स्पष्टीकरण र जिम्मेवारी मागिरहेका छन्।
यसैबीच, राष्ट्रिय सभाको बैठक पनि आज अपराह्न १:१५ बजेका लागि तय गरिएको छ। सो बैठकमा पनि अर्थमन्त्री पौडेलले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र छलफल प्रारम्भ गर्ने कार्यसूची राखिएको छ।
आज संसद भवनको माहोल केवल बजेट प्रस्तावकै कारण होइन, सत्ता–विपक्षबीचको रस्साकस्सीले समेत गर्माउने देखिन्छ। अब हेर्न बाँकी छ — प्रतिनिधिसभा संवाद र सहमतितर्फ उन्मुख हुन्छ कि फेरि अवरोधको दायरामा सीमित रहन्छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस