Like us!
Follow us!
Connect us!
Watch us!

गृहमन्त्री लेखकद्वारा विपद् प्रतिकार्य तयारीमा तीव्रता, सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

अर्थ संसार

विहीबार, २२ जेठ २०८२, १३ : १२ मा प्रकाशित

गृहमन्त्री लेखकद्वारा विपद् प्रतिकार्य तयारीमा तीव्रता, सुरक्षा निकायलाई तयारी अवस्थामा रहन निर्देशन

मनसुन सक्रिय हुने पूर्वसन्ध्यामा गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य तयारीलाई तीव्रता दिएका छन्। देशभर बाढी, पहिरो र डुवानको जोखिम उच्च रहेको समयमा गृहमन्त्रीले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, र विपद् व्यवस्थापन कार्यालयको निरीक्षण गर्दै सरोकारवाला निकायहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन्।

गत वर्षको बाढीबाट भएको जनधनको क्षति र यस वर्ष झनै ठूलो विपद् आउनसक्ने पूर्वानुमानलाई ध्यानमा राख्दै गृहमन्त्रालयले आवश्यक समन्वय र तयारी सुरु गरिसकेको छ। विगत तीन दिनदेखि गृहमन्त्री लेखकले विभिन्न सुरक्षा निकायहरूसँग भर्चुअल बैठकमार्फत निर्देशन दिँदै विपद् प्रतिकार्यमा तयारी अवस्थामा रहन आग्रह गरेका छन्।

गृह मन्त्रालयले विगतका विपद् घटनाबाट सिक्दै प्राविधिक जनशक्ति र उपकरण तयारी अवस्थामा राख्न र स्थानीय तथा प्रदेश सरकारहरूसँग समन्वय बढाउन आग्रह गरेको छ। विशेषगरी बर्खायाममा बाढी, पहिरो र डुवानका जोखिम न्यूनीकरणमा समयमै सूचना प्रवाह र उद्धारमा जुट्न आवश्यक भएको मन्त्रालयको भनाइ छ।

बुधवार नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालयको निरीक्षणको क्रममा गृहमन्त्री लेखकले 'जुनसुकै बेला जेसुकै हुन सक्छ' भन्ने मानसिकतासहित तयारीमा बस्नुपर्ने बताए। उनले सीमित स्रोत र साधनका बीच पनि प्रहरी संयन्त्रलाई मजबुत बनाउनेतर्फ मन्त्रालय अग्रसर रहेको स्पष्ट गरे।

गृहमन्त्रीका अनुसार विपद् व्यवस्थापन नेपालको कानुनअनुसार नेपाल प्रहरीको प्रमुख जिम्मेवारी हो। प्रहरीप्रति नागरिकको आशा र विश्वास बढिरहेको अवस्थामा प्रहरी संयन्त्रले जनताको अपेक्षालाई सेवा भावसहित सम्बोधन गर्नुपर्नेमा उनले जोड दिए।

उनले सशस्त्र प्रहरी बल नेपाललाई पनि विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँग समन्वयमा रहेर काम गर्न सुझाव दिएका छन्। जेष्ठ २८ गतेबाट मनसुन सक्रिय हुने अनुमान गरिएको सन्दर्भमा गृहमन्त्रीले आजैदेखि तयारी अवस्थामा रहन र सम्भावित घटनाका लागि चनाखो रहन निर्देशन दिएका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको