नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंले सेयर बजारको दिगो विकास, विस्तार र आधुनिकिकरणका लागि नेप्सेको पुनःसंरचना अपरिहार्य भएको बताएका छन्।
उनको भनाइमा, हालको नेप्सेको संरचना र पुँजीगत अवस्थाले आवश्यक सुधार र सेवा विस्तार गर्न असहज भएको छ। 'अहिले नेप्सेको पुँजी कम छ, जसका कारण आवश्यक परियोजनाहरू अघि बढाउन गाह्रो भइरहेको छ,' उनले भने। 'पुनःसंरचना पश्चात पुँजी वृद्धि भई ३ अर्ब रुपैयाँ पुर्याइने लक्ष्य राखिएको छ, जसले गर्दा नेप्सेले आफ्नो सेवा परिष्कृत गर्न, प्रविधिको स्तरोन्नति गर्न तथा व्यापक सुधार गर्न सहज हुनेछ।'
सीईओ चापागाईंले अघिल्ला नेतृत्वहरूले पुर्याएको योगदानको सम्मान गर्दै, अबको चरण सुधार, विस्तार र नवप्रवर्तनको हुने स्पष्ट पारे। 'सेयर बजारको विकास राष्ट्रिय अर्थतन्त्रसँग गाँसिएको विषय हो। अबको आवश्यकता भनेको आधुनिक प्रविधियुक्त, पुँजी सम्पन्न र दिगो संस्थागत संरचना हो,' उनले जोड दिए।
यसबाहेक, नेपाल धितोपत्र बोर्ड (सेबोन) द्वारा गठित समितिले समेत नेप्सेको पुनःसंरचना अपरिहार्य रहेको सुझाव दिएको छ। चिन्तामणि शिवाकोटीको नेतृत्वमा गठित सो समितिको प्रतिवेदनमा सेयर बजारको सशक्तीकरणका लागि नेप्सेमा संरचनात्मक सुधार गर्नुपर्ने उल्लेख छ। रिपोर्ट अनुसार, बजार सञ्चालनमा प्रतिस्पर्धा ल्याउने वा वैकल्पिक संस्थालाई समेत प्रवेश दिने सम्भावनाको अध्ययनसँगै नेप्सेलाई बलियो बनाउनु जरुरी छ भन्ने सन्देश दिइएको छ।
चापागाईंले स्पष्ट पारेअनुसार, सेवा परिष्कृत गर्न, प्रविधिको विस्तार गर्न र नविन प्रणाली कार्यान्वयन गर्न नेप्सेको वर्तमान रूप अपर्याप्त छ। त्यसैले, संस्थाको दीर्घकालीन सफलता तथा लगानीकर्तालाई भरपर्दो सेवा दिने उद्देश्यले नेप्से पुनःसंरचना अब टार्न नसकिने आवश्यकता बनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस