राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोधका बीच प्रतिनिधि सभाको बैठक चलाएको भन्दै सभामुखमाथि प्रश्न उठाएको छ।
राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले गृहमन्त्रीको राजीनामा माग्दै विरोध जनाउँदै अवरोध गर्दा पनि सभामुखले प्रतिनिधि सभाको बैठक अगाडि बढाएका छन्। रास्वपाका सांसदहरू नाराबाजी गर्दै विरोध गरिरहेका थिए भने राप्रपाका सांसदहरू आफ्नो सिटबाट उठेर विरोध प्रदर्शन गरिरहेका थिए।
तर, सभामुखले बैठकलाई निरन्तरता दिएका छन्, राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले यसरी संसद चलाउनु उचित नभएको बताए। उनले प्रश्न उठाउँदै भने, 'सभामुखज्यु, मैले राख्नुपर्ने केही छैन। संसद्मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हो ?'
शाहीले संसदमा विरोध गरिरहेका सांसदहरू जनताले निर्वाचित गरेका प्रतिनिधि भएकाले सबैलाई समान व्यवहार मिल्नु पर्ने बताएका छन्। विरोधकै बीचमा संसद् सञ्चालन गर्नु दादागिरी भएको उनको भनाइ छ।
'यसरी संसद् चलाउनु संसदीय अभ्यास होइन, यो दादागिरी हो। दादागिरी बन्द गर्नुस्,' उनले जोड दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस