नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद शक्ति बस्नेतले आगामी आर्थिक वर्षको बजेटमा गरिएको भूमि बैंकको व्यवस्था बिचौलियालाई लाभ दिने उद्देश्यले ल्याइएको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथि भएको छलफलमा भाग लिँदै उनले भूमि बैंकको अवधारणा गरिब किसानको जीवनस्तर उकास्न होइन, केही सीमित व्यवसायी र बिचौलियाको हितमा लक्षित रहेको दाबी गरे।
उनले भने, 'आजको आवश्यकता भनेको गरिब किसानलाई उत्पादनमा सहभागी गराउने, भूमिको उत्पादकत्व बढाउने, र सामाजिक न्यायलाई स्थापित गर्नु हो। तर भूमि बैंकले किसानको हितमा काम गर्नेभन्दा बिचौलियाको पक्षमा काम गर्ने सम्भावना बढी देखिन्छ।'
सांसद बस्नेतले भूमिको व्यवस्थापनसमेत प्रभावकारी रूपमा नभएको भन्दै आलोचना गरे। साथै, बजेटमा पिँधमा रहेका किसानको अवस्था सुधार्ने कुनै ठोस योजना नरहेको उल्लेख गर्दै सरकारलाई तीव्र आलोचना गरे। 'किसानको जीवनमा आर्थिक उपार्जनको कुरा बजेटमा देखिन्न,' उनले भने।
उनले ऊर्जा विकासका लागि लामो समय लगाएर तयार गरिएको मार्गचित्रलाई बजेटले बेवास्ता गरेको आरोप पनि लगाए। त्यस्तै, सामान्य पूर्वाधारको अभावले ओझेलमा परेका पर्यटकीय क्षेत्रहरूप्रति पनि सरकारको ध्यान नपुगेको टिप्पणी गरे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस