नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले भिजिट भिसासम्बन्धी समस्या अहिले मात्र नभई २०६४ सालदेखि नै चलिरहेको बताएका छन्। प्रेस सेन्टर चितवनले आज शिवनगरस्थित दाहाल निवासमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले यो समस्या दीर्घकालीन भएको उल्लेख गरे।
'यो समस्या २०६४ सालदेखि सुरु भएको हो भन्ने कुरा तपाईँहरूले पनि थाहा पाउनु भएको छ, हामीले पनि थाहा पाएकै छौँ,' प्रचण्डले भने। उनका अनुसार यस विषयमा छानबिन र नीतिगत सुधार अनिवार्य छ।
उक्त मुद्दालाई बेवास्ता गर्न नहुने बताउँदै प्रचण्डले जरुरी परे संविधान संशोधन, नयाँ ऐन निर्माण र आवश्यक नीतिगत निर्णय समेत गर्नुपर्ने धारणा व्यक्त गरे। 'मैले छोडेर पनि यो मुद्दा नेपाली जनताले छाड्ने कुरा हुँदैन,'उनले स्पष्ट पारे।
उनले प्रतिपक्षमा बसे पनि सत्तापक्षको भूमिका निर्वाह गर्नुपर्ने बाध्यता रहेको बताए। 'संविधान, ऐन, प्रणालीका लागि हामी सत्तापक्षसरह जिम्मेवारी बोध गर्दै काम गरिरहेका छौँ,' उनले भने।
साथै, बजेट पारित गर्नु, संघीय निजामती सेवा ऐन, विद्यालय शिक्षा ऐन ल्याउनु, र शान्ति प्रक्रियाका बाँकी कार्य सम्पन्न गर्नु मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै प्रचण्डले ३० दिनभित्र छानबिन समिति गठन गर्ने सर्तमा संसद् अवरोध हटाउने सहमति भएको पनि स्पष्ट पारे।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस