नेपाली कांग्रेसका नेता जितजंग बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई नैतिकताको पाठ पढाउनुपर्ने आवश्यकता रहेको बताएका छन्।
साथै, उनले राजावादीहरूमाथि पनि सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन्। रास्वपाले भिजिट भिसा प्रकरणलाई लिएर गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकको राजीनामाको माग गरिरहेकै बेला, बस्नेतले उल्टै रास्वपाकै नैतिकताको प्रश्न उठाएका हुन्।
राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले भने, 'तपाईंहरूको पार्टी सभापतिमाथि मुद्दा छ, उहाँ जेलमा हुनुहुन्छ। त्यसो हुँदा पनि उहाँ नै संसदीय दलका नेता बस्ने, सभापति नछोड्ने, अनि हामीलाई नैतिकता सिकाउने? यो कुन खालको नैतिकता हो?' बस्नेतले राजावादीहरूलाई पनि आलोचना गर्दै विगतमा लामो समय सत्तामा बसेका तिनका नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने धारणा राखे। उनले भने, '३०-४० वर्ष शासन गरेका पञ्च र राजावादीका महलहरू हेरौँ। उनीहरूको सम्पत्ति जाँचिनुपर्छ।'
उनले नेपालमा राजा फर्कन नसक्ने दाबी गर्दै गणतन्त्र स्थायीतर्फ अघि बढिसकेको बताए। “यो देश हामीले बनाएका हौं, गणतन्त्र हामीले ल्याएका हौं, र राजा हामीले हटाएका हौं। अब राजा फर्कन सक्दैन। अब राजा त केवल चारवटा तासको पत्तामा मात्र हुन्छ,' उनले व्यंग्य गर्दै भने।
राजालाई ‘विष्णुको अवतार’ मान्नेहरूप्रति कटाक्ष गर्दै उनले थपे, 'यदि राजा साँच्चिकै विष्णुको अवतार भएको भए मूर्ति चोरिने थिएन, गजुर चोरिने थिएन, कोकिन र ड्रग्सको व्यापार हुने थिएन। म स्वयं कट्टर हिन्दु हुँ, तर यस्तो विकृति देखेर कसरी विष्णुको अवतार भनेर स्वीकार गर्ने?'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस