नेपाली कांग्रेसका नेता ज्ञानेन्द्र कार्कीले छिमेकी मुलुकहरू भारत र चीनले तीव्र विकास गरिरहेका बेला नेपालमा भने केवल व्यवस्था परिवर्तन भएको र जनताको अवस्था यथावत् रहेको गुनासो सर्वत्र उठिरहेको बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै सांसद कार्कीले 'म मात्रै भए देश बन्छ, अरू हुँदा केही हुँदैन' भन्ने मानसिकता र भाष्य गलत रहेको उल्लेख गरे। उनले विकास नहुनुका कारणबारे गम्भीर समीक्षा गर्नुपर्ने आवश्यकता औंल्याउँदै भने, 'व्यवस्था परिवर्तन त भयो, तर जनताको जीवनमा अपेक्षित परिवर्तन आएन। ३६ वर्षअघि प्रजातन्त्र आयो, १७ वर्षअघि गणतन्त्र आयो, १० वर्षअघि संविधान जारी भयो — तर किन हाम्रो अवस्था उस्तै छ?'
उनले छिमेकी देशहरूले विकासमा हासिल गरेका उपलब्धिहरूको तुलनात्मक विश्लेषण नगरी केवल निराशा व्यक्त गरेर वा स्टन्ट देखाएर देश अगाडि बढ्न नसक्ने स्पष्ट पारे। कार्कीले राजनीतिक स्थिरता, दृढ नेतृत्व, नीतिगत स्पष्टता, र दीर्घकालीन सोचसहितको विकास योजना आवश्यक रहेको बताए।
उनले थपे, 'देशको दिगो विकासका लागि सबै राजनीतिक दलहरूको साझा प्रतिबद्धता अपरिहार्य छ। हामीले विकासको मोडलबारे पनि पुनर्विचार गर्न जरुरी छ।'
कार्कीका अनुसार मुलुकको समृद्धिको मार्ग अवरुद्ध भएको छ भने त्यसको मूल कारण आत्ममुग्धता, योजनाको अभाव र कार्यान्वयनमा कमजोरी हो। अब समय आएको छ — राज्यको ध्यान जनताको जीवनस्तर सुधारतर्फ केन्द्रित गर्न।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस