Like us!
Follow us!
Connect us!
Watch us!

दक्षिण अफ्रिकी लगानीकर्ता लागि उत्कृष्ट सम्भावना: अध्यक्ष ढकाल

अर्थ संसार

बुधबार, ११ असार २०८२, १६ : ४४ मा प्रकाशित

दक्षिण अफ्रिकी लगानीकर्ता लागि उत्कृष्ट सम्भावना: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले दक्षिण अफ्रिकाको भारतका लागि उच्चायुक्त तथा नेपालका लागि अवैतनिक राजदूत प्रो. अनिल सुकलालसँग मंगलबार महासंघ सचिवालयमा भेटवार्ता गरेका छन्।

भेटका क्रममा अध्यक्ष ढकालले दक्षिण अफ्रिकी लगानीकर्ताहरूलाई नेपालमा विशेषगरी पर्यटन पूर्वाधार विकासमा लगानी गर्न आकर्षक सम्भावना रहेको उल्लेख गर्दै नेपालमा लगानी प्रवद्र्धन गर्न सहयोग गरिदिन आग्रह गरे।

उनले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार अहिले सीमित भए पनि भविष्यमा विस्तार गर्ने प्रचुर सम्भावना रहेको बताए। साथै, कृषि प्रशोधन, जलविद्युत्, पूर्वाधार, सूचना प्रविधि र पर्यटनजस्ता क्षेत्रमा वैदेशिक लगानीकर्ताहरूका लागि नेपाल उपयुक्त गन्तव्य रहेको धारणा व्यक्त गरे।

'नेपालको भौगोलिक विशेषता यस्तो छ, जहाँ एक घण्टाभित्रमै तराईबाट रमणीय पहाडी क्षेत्रमा पुग्न सकिन्छ,' ढकालले भने, 'यसले रिसोर्ट, वेलनेस सेन्टर, एड्भेन्चर तथा इको–टुरिजम विकास गर्न उपयुक्त आधार तयार पार्दछ।'

ढकालले नेपाल सरकारले महासंघको पहलमा हालै लगानीसम्बन्धी ३० भन्दा बढी कानुन संशोधन गरी वैदेशिक लगानीको प्रक्रिया सरल बनाएको र नाफा फिर्ता लैजान सजिलो बनाएको जानकारी समेत दिए। साथै, द्विपक्षीय लगानी सम्झौताको खाका सरकारबाट स्वीकृत भइसकेको भन्दै यसले लगानीकर्तामा विश्वास वृद्धि गर्ने विश्वास व्यक्त गरे।

महासंघले व्यापारिक प्रतिनिधिमण्डलको स्वागत, बजार अध्ययन तथा आवश्यक सहजीकरण गर्न सधैं तत्पर रहने प्रतिवद्धता पनि उनले जनाए।

भेटका अवसरमा राजदूत प्रो. सुकलालले नेपाल र दक्षिण अफ्रिकाबीचको व्यापार तथा लगानी सम्बन्धलाई अझ प्रगाढ बनाउनेमा आफ्नो पूर्ण समर्थन रहने बताए। विशेषतः पर्यटन क्षेत्रमा दुवै देशबीच सहकार्यको ठूलो सम्भावना रहेको उल्लेख गर्दै उनले भने, 'जसरी दक्षिण अफ्रिका वन्यजन्तु पर्यटनमा समृद्ध छ, नेपाल पनि आफ्नो भू-परिवेश, जैविक विविधता र सांस्कृतिक सम्पदाका कारण विशिष्ट छ। हामी मिलेर पर्यटन प्रवद्र्धनमा उल्लेखनीय काम गर्न सक्छौं।'

हाल नेपालले दक्षिण अफ्रिकाबाट अन्न, फलफूल, पेय पदार्थ र मेसिनरी आयात गर्दै आएको छ, भने नेपालबाट कार्पेट, तयारी कपडा र फलामजन्य सामग्री निर्यात गरिन्छ।

भेटमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा नेपालका लागि दक्षिण अफ्रिकाका महावाणिज्यदूत प्रदीप कुमार श्रेष्ठको पनि उपस्थिति थियो। दुवै पक्षले यो भेटवार्ताले नेपाल–दक्षिण अफ्रिका सम्बन्धलाई थप प्रभावकारी र परिणाममुखी बनाउने विश्वास व्यक्त गरेका छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको