Like us!
Follow us!
Connect us!
Watch us!

सेयर कर्जामा बैंकहरूको बढ्दो आकर्षण - थप १ खर्ब २४ अर्ब कर्जा दिने क्षमता, पाँच बैंक सीमा नजिक

अर्थ संसार

आइतबार, २२ असार २०८२, १२ : १२ मा प्रकाशित

सेयर कर्जामा बैंकहरूको बढ्दो आकर्षण - थप १ खर्ब २४ अर्ब कर्जा दिने क्षमता, पाँच बैंक सीमा नजिक

कर्जा प्रवाह अन्य क्षेत्रहरूमा सुस्त भइरहेको बेला सेयर धितो कर्जा भने तीव्र गतिमा बढिरहेको देखिएको छ।

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार, अघिल्लो आर्थिक वर्षको वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट ८५ अर्ब ९५ करोड रुपैयाँ सेयर धितो कर्जा प्रवाह भएको थियो। चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा यो कर्जा १ खर्ब २५ अर्ब ५२ करोड रुपैयाँमा पुगेको छ, जसले करिब ४६ प्रतिशतको वृद्धि देखाउँछ।

यो वृद्धि सन्दर्भमा, लगानीकर्ताहरूले १५ करोड रुपैयाँको व्यक्तिगत कर्जा सीमा हटाउनुपर्ने सुझाव दिइरहेका छन्। अर्कोतर्फ, बैंक तथा वित्तीय संस्थाले भने संस्थागत रूपमा ४० प्रतिशत प्राथमिक पूँजीको सीमा नाघ्न नपाउने व्यवस्था यथावत छ। बैंकहरू भन्छन्, यदि संस्थागत सीमा लागू भइसकेको छ भने व्यक्तिगत सीमा हटाउनु उपयुक्त हुन्छ।

 

अझै बाँकी छ​ कर्जा दिने क्षमता 

वाणिज्य बैंकहरूको हालको प्राथमिक पूँजी ५ खर्ब ६८ अर्ब रुपैयाँ रहेको छ। राष्ट्र बैंकको नियम अनुसार, बैंकहरूले कोर क्यापिटलको ४० प्रतिशतसम्म (२ खर्ब २७ अर्ब रुपैयाँ) सेयर धितोमा कर्जा दिन सक्छन्। हालसम्म १ खर्ब ३ अर्ब रुपैयाँ कर्जा दिइसकिएकोले अझै १ खर्ब २४ अर्ब रुपैयाँ कर्जा दिन सक्ने सम्भावना बाँकी छ।

तर पाँच वाणिज्य बैंक—नेपाल बैंक, नबिल, कुमारी, सिद्धार्थ र सिटिजन्स बैंकको सेयर कर्जा सीमा ३० प्रतिशत नाघिसकेको छ। यो स्थितिमा जोखिम व्यवस्थापनमा ध्यान दिनुपर्ने विश्लेषकहरूको धारणा छ।

कसरी दिइन्छ सेयर धितो कर्जा?

सेयर धितो कर्जा दिनका लागि नेपाल राष्ट्र बैंकले कडाइका साथ स्पष्ट मापदण्ड तोकेको छ। जुनसुकै कम्पनीको सेयर धितो राखेर कर्जा लिन पाइँदैन। यस्तो कर्जा लिनका लागि कम्पनी वित्तीय दृष्टिले सक्षम, पारदर्शी र नियमनअनुसार चलेको हुनुपर्छ।

त्यस्ता मापदण्डहरू अनुसार, नेगेटिभ नेटवर्थ भएका कम्पनीहरूका सेयर धितोका रूपमा मान्य हुँदैनन्। त्यस्तै गरी नेपाल स्टक एक्सचेन्जमा सूचीकृत नभएका कम्पनीहरू, पछिल्ला तीन वर्षदेखि निरन्तर नोक्सानीमा रहेका कम्पनीहरू, एक वर्षसम्म लेखापरीक्षण नगरेका, व्यवसाय सञ्चालन गरेको एक वर्ष नपुगेका, वा तीन वर्षदेखि साधारण सभा नगरेका कम्पनीहरूको सेयरलाई धितो राखेर कर्जा लिन पाइँदैन।

सेयर कर्जा दिँदा धितोको मूल्यांकन पनि निश्चित आधारमा गरिन्छ। धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको अधिकतम ७० प्रतिशतसम्म मात्र कर्जा दिन पाइन्छ। तर यदि संस्थापक समूहको सेयर हो भने, बैंक तथा वित्तीय संस्थाहरूले त्यसको ५० प्रतिशत मात्र कर्जा दिन सक्छन्। संस्थापक सेयरधनीहरूले पनि आफूले धारण गरेका सेयरमध्ये अधिकतम ५० प्रतिशत मात्र धितो राख्न पाउँछन्। अर्थात्, कुनै संस्थापक सेयरधनीले आफ्नो आधा भन्दा बढी सेयर धितोमा राखेर बैंकबाट कर्जा लिन सक्दैनन्।

सेयर धितो कर्जाको अवधि अधिकतम १ वर्षको हुन्छ र पुनःनवीकरणका लागि कर्जा नियमित हुनुपर्छ। यदि धितो राखिएको सेयरको मूल्य तल झर्छ भने बैंकले मार्जिन कल गर्न सक्छ, जसअनुसार ग्राहकले थप धितो राख्न वा कर्जा फिर्ता गर्नुपर्छ।

एक बर्षमा कुन बैंकको सेयर कर्जा कतिले बढ्यो ?

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको