Like us!
Follow us!
Connect us!
Watch us!

बैंकको ब्याज आम्दानीबाट धानिएको बीमा क्षेत्र, कहिलेसम्म बैंकको ब्याज खाएर बस्ने ?

अर्थ संसार

सोमबार, २३ असार २०८२, १० : ४९ मा प्रकाशित

बैंकको ब्याज आम्दानीबाट धानिएको बीमा क्षेत्र, कहिलेसम्म बैंकको ब्याज खाएर बस्ने ?

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर घट्दो.क्रममा रहेको छ । बैंकमा तरलता थुप्रिदाँ बैंकहरुले लगातार रुपमा बैंकको ब्याजदर घटाइरहेका छन् । बैंकहरुले व्यक्तिगत तथा संस्थागत रुपमा मुद्दतिको ब्याजदर घटाइरहेका छन् । 

कोरोना महामारी पछिको समयमा बैंकको ब्याजदर बढेको थियो । तर पछिल्ला दुई वर्षहरुमा बैंकहरुले निरन्तर रुपमा ब्याजदर घटाइरहेका छन् । बैंकहरुले ब्याजदर घटाउँदा पनि लगानी बढ्न सकेको छैन । बैंकको ब्याजदरमा कमी आउँदा त्यसको प्रत्यक्ष असर बीमा कम्पनीहरुमा परेको छ । बीमा कम्पनीहरुको आम्दानीको मुख्य स्रोत नै बैंकमा राखिने मुद्दति निक्षेप भएकाले ब्याजदर घट्दा बीमा कम्पनीहरुको नाफामा नै त्यसको असर परेको छ । आर्थिक वर्ष २०७९/८० मा ७.८६ प्रतिशत रहेको निक्षेपको ब्याजदर चालु आर्थिक वर्षको १० महिनाको अवधिसम्ममा आइपुग्दा ४.३७ प्रतिशतमा सिमित भएको छ । 

बैंकमा लगानी र नाफामा ब्याजदरको प्रभाव

आम्दानीको मुख्य स्रोत नै बैंकमा राखिने निक्षेप रहेकाले बीमा कम्पनीहरुलाई ठूलो धक्का पुगेको देखिन्छ । यसले कम्पनीहरुको नाफामा नै असर परिरहेको छ । अहिले सञ्चालनमा रहेका बीमा कम्पनीहरुको सबै भन्दा ठूलो लगानीको हिस्सा भनेको नै बैंकको मुद्दति निक्षेप हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले कुल ७ खर्ब ३३ अर्ब ७४ करोड ९८ लाख रुपैयाँ लगानी गर्दा ‘क’ वर्गका बैंकहरुमा मात्रै ५ खर्ब १४ अर्ब ४२ करोड ६६ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । त्यस्तै निर्जीवन बीमा कम्पनीहरुले पनि कुला ६८ अर्ब ७ करोड ४३ लाख रुपैयाँ लगानी गर्दा वाणिज्य बैंकमा मात्रै ४५ अर्ब ७० करोड ६१ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । 

त्यस्तै लघुजीवन बीमा कम्पनीहरुले २ अर्ब १६ करोड १० लाख रुपैयाँ लगानी गरेका छन् । उक्त रकम मध्ये वाणिज्य बैंकको मुद्दति खातामा १ अर्ब ८१ करोड ९० लाख रुपैयाँ लगानी गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकसम्मको अवधिमा निर्जीवन लघु बीमा कम्पनीहरुले कुल २ अर्ब २७ करोड ३ लाख रुपैयाँ लगानी गरेको मध्ये वाणिज्य बैंकको मुद्दति निक्षेपमा १ अर्ब ९४ करोड ४७ लाख रुपैयाँ लगानी गरेको देखिन्छ । 
बीमा कम्पनीहरुको ठूलो हिस्सा बैंकको मुद्दति खातामा जम्मा रहेको र त्यो नै आम्दानीको मुख्य स्रोत भएको अवस्थामा बैंकको ब्याजदर घट्दा त्यसको प्रत्यक्ष असर कम्पनीको नाफामा परेको छ । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई लगानीका विभिन्न क्षेत्रहरु छुट्याएको भए पनि उनीहरुले जोखिम क्षेत्र भन्दा पनि सुरक्षित रहेको बैंकको मुद्दति खातालाई नै रोज्दा अहिले समस्या आइरहेको बीमा विज्ञहरुको भनाइ छ । बैंकको मुद्दति खातामा गरिएको लगानी बढी सुरक्षित हुने भएकाले पनि कम्पनीहरुको लगानी त्यस तर्फनै बढी आकर्षित देखिन्छ । 

प्राधिकरणले गरेको व्यवस्था अनुसार जीवन, निर्जीवन, पुनर्बीमा कम्पनीहरुले ‘क’ वर्गका वाणिज्य बैंकहरुको मुद्दती निक्षेपमा कुल व्यवसायको कम्पनीमा ३० प्रतिशत रकम जम्मा गर्नु पर्छ । यो बीमा कम्पनीहरुले लगानी गर्न पाउने सबै भन्दा ठूलो रकमको हिस्सा हो । वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीको ऋणपत्रमा बढीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ । जीवन बीमा कम्पनीहरुले नेपाल सरकार, प्रदेश सरकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा पनि न्युनतम २५ प्रतिशत लगानी गर्न पाउछन् । 

त्यस्तै बीमा कम्पनीहरुले विकास बैंक तथा वित्तीय संस्थाको मुद्दति खातामा आफ्नो कुल लगानीको बढीमा १० प्रतिशत, फाइनान्स कम्पनीमा बढीमा ५ प्रतिशत, घरजग्गामा बढीमा १० प्रतिशत र सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढिमा १० प्रतिशत लगानी गर्न पाउँछन् 
सूचीकृत भएका पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा बढीमा २० प्रतिशत लगानी गर्न पाउने व्यवस्था छ । त्यस्तै नागरिक लगानी कोषको सेयरमा बढिमा ५ प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको छ । 
निर्जीवन बीमा कम्पनीले क वर्गका वाणिज्य बैंकहरुमा न्युनतम ३० प्रतिशत, नेपाल सरकार, प्रदेश सकार, स्थानीय सरकार वा नेपाल राष्ट्र बैंकको बचतपत्र वा ऋणपत्रमा न्युनतम २० प्रतिशत, ख वर्गका विकास बैंकको मुद्दतिमा बढिमा १० प्रतिशत, ग वर्गका फाइनान्स कम्पनीमा बढिमा ५ प्रतिशत र घर जग्गामा बढिमा १० प्रतिशत लगानी गर्नु पर्ने हुन्छ । सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढिमा १० प्रतिशत, क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर, बण्ड, डिबेन्चर र ऋणपत्रमा बढिमा २० प्रतिशत लगानी गर्न पाउँछन् । 

त्यस्तै सूचीकृत पब्लिक कम्पनीको बण्ड, डिबेन्चर र ऋणपत्रमा बढिमा २० प्रतिशत र कृषि उत्पादन था वितरण, शितभण्डार गृह, पर्यटन, जलविद्युत लगायतका क्षेत्रमा पनि बढिमा १० प्रतिशत लगानी गर्न पाउने व्यवस्था रहेको  छ ।  
वाणिज्य बैंक तथा पूर्वाधार विकास बैंकमा कम्पनीमा ३० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था कै कारण जीवन बीमा कम्पनीहरुको कुल लगानीको ७०.१० प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुको कुल लगानीको ६७.१४ प्रतिशत वाणिज्य बैंकमा लगानी गरेका छन् । 

यस्तो भन्छन् बीमा विज्ञ

बीमा कम्पनीहरुका लागि लगानीका विभिन्न क्षेत्रहरु तोकिएको भए पनि बैंकको मुद्दति खातामा राखिएको लगानी सुरक्षित हुने भएकाले बढी लगानी त्यहाँ भएका बीमा विज्ञ रविन्द्र घिमिरेको भनाइ छ । जोखिम नलिएर कमाउने ठाउँ नै बैंक भएकाले ब्याज घटट्दा नाफामा असर परेको उनले बताए । सबैले सुरक्षित क्षेत्र रोज्दा अहिलेको अवस्था आएको उनी बताउँछन् । ‘हामीहरु धेरै नाफा भएको बेला धेरै नाफा वितरण गछौँ । अनि घटेको बेला घट्यो भनेर रोइलो गर्छौँ । त्यो भन्दा बीमा कम्पनीहरुलाई निश्चित प्रतिशत तोकेर त्यो भन्दा बढी नाफा वितरण गर्न पाउँदैनौ भनियो भने यो अवस्था आउँदैन थियो,’ उनले भने । 

बीमा कम्पनीहरुको अधिकांश लगानी बैंकको मुद्दति खातामा हुँदा बैंकको ब्याजदर घटेसँगै नाफामा भारी गिरावट देखियो । अब बीमा कम्पनीहरुले पनि लगानीका अन्य क्षेत्रहरुमा समेत लगानी गरेर बैंकको ब्याजदरमा निर्भर हुनु पर्ने बाध्यताबाट मुक्त हुने तर्फ सोच्नु पर्ने देखिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको