नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा ले बीमा व्यवसायलाई दीर्घकालीन, विश्वसनीय र प्रभावकारी बनाउने गरी कार्य गर्न बीमकका प्रदेश तथा शाखा कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्।
सोमबार विराटनगरमा आयोजित कोशी प्रदेशस्थित बीमकका प्रमुखहरूसँगको छलफल तथा अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष ओझाले बीमा व्यवसायका सकारात्मक पक्षलाई प्रवर्द्धन गर्न र नकारात्मक पक्ष सुधार्न आह्वान गरे।
उनले बीमा ऐन, नियम तथा निर्देशिका अनुसार व्यवसाय सञ्चालन गर्न, जोखिमको उचित मूल्याङ्कन गर्न र गलत सूचना प्रवाहबाट जोगिन आग्रह गर्दै उल्लंघन भए कारबाही हुने चेतावनी दिए। 'बीमा व्यवसायको विश्वास बीमककै जिम्मेवारी हो। सही जानकारीका आधारमा बीमालेख जारी गरिएमा दाबी भुक्तानीमा कुनै समस्या हुँदैन,'उनले भने।
अध्यक्ष ओझाले नागरिकले बीमा गरेपछि उचित रूपमा दाबी प्राप्त गर्नुपर्ने बताउँदै कर्मचारीहरूको क्षमता विकाससँगै इमान्दारिता अनिवार्य भएको उल्लेख गरे।
कार्यक्रममा प्राधिकरणका निर्देशक निर्मल अधिकारी ले बीमा कम्पनीहरूले रेट कटिङ र सुशासनको उल्लंघन गरेमा कारबाही हुने बताए। कम्पनीहरू स्वनियममा बसेर काम गर्नुपर्नेमा उनले जोड दिए।
कार्यक्रमका सहभागीहरूले बीमकका प्रादेशिक कार्यालयहरूलाई अधिकार प्रत्यायोजन गर्नुपर्ने, प्रिमियमको एक अंश सम्बन्धित प्रदेशमै सामाजिक उत्तरदायित्वअन्तर्गत खर्च गर्नुपर्ने, शाखा कार्यालय स्थापना गर्दा मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने, र विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा बीमा विषय समावेश गर्न पहल गर्नुपर्ने सुझावहरू राखेका थिए।
कार्यक्रममा प्राधिकरणका उपनिर्देशक राजेन्द्र महर्जन ले स्वागत मन्तव्य दिएका थिए भने कोशी प्रदेश कार्यालय प्रमुख विनोद पोखरेल ले कार्यक्रम सञ्चालन गरेका थिए। कार्यक्रममा कोशी प्रदेशस्थित बीमा कम्पनीका प्रमुख, इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटीका प्रतिनिधि र बीमा मध्यस्थकर्ताहरूको उपस्थिति रहेको थियो।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस