बीमा उद्योगमा रोजगारी पाउनेहरुको संख्या १२ हजार भन्दा बढी पुगेको छ । चालु आर्थिक वर्षको जेठ महिनासम्मको अवधिमा बीमा क्षेत्रमा १२ हजार २३४ जनाले रोजगारी पाएका छन् ।
नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार जेठ महिनासम्मको अवधिमा गत आवको सोही अवधिमा भन्दा रोजगारी पाउनेको संख्यामा ४.८० प्रतिशतले वृद्धि भएको छ । गत आवको जेठ महिनासम्म बीमा क्षेत्रमा ११ हजार ६७४ जनाले रोजगारी पाएका थिए । यो अवधिमा जीवन बीमा कम्पनी भन्दा निर्जीवन बीमा कम्पनीमा रोजगारी पाउनेको संख्या धेरै रहेको छ । जेठ महिनासम्ममा जीवन बीमा कम्पनीमा ६ हजार १११ जनाले रोजगारी पाएका छन् भने निर्जीवन बीमा कम्पनीहरुमा ६ हजार १२३ जनाले रोजगारी पाएका छन् । गत वर्षको तुलनामा जीवन बीमा कम्पनीमा रोजगारी पाउनेको संख्या ४.९१ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरुमा ४.६८ प्रतिशतले वृद्धि भएको छ ।
गत आवको सोही अवधिसम्ममा जीवन बीमा कम्पनीहरुमा कुल ५ हजार ८२५ जनाले रोजगारी पाएका थिए भने निर्जीवन बीमा कम्पनीमा ५ हजार ८४९ जनाले रोजगारी पाएका थिए ।
शाखा संख्यामा पनि वृद्धि
बीमा कम्पनीहरुको कार्यालय संख्यामा पनि १ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ । गत आवको जेठ महिनासम्ममा जीवन र निर्जीवन बीमा कम्पनीहरुका २ हजार ९७२ वटा कार्यलय रहेका थिए । चालु आवको जेठसम्ममा कार्यालय संख्या ३ हजार ७ पुगेको छ । यो गत आवको भन्दा १.१८ प्रतिशतले धेरै हो । कार्यालय संख्या भने निर्जीवन बीमा कम्पनीभन्दा जीवन बीमा कम्पनीहरुको धेरै रहेको छ । जीवन बीमा कम्पनीको शाखा संख्या १ हजार ८५० वटा रहेको छ भने निर्जीवन बीमा कम्पनीहरुको शाखा संख्या १ हजार १५७ रहेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस