Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल लाइफद्वारा किओचलाई रु १ करोडको सहयोग, बाल अस्पताल निर्माणमा मिल्यो साथ

अर्थ संसार

सोमबार, ३० असार २०८२, ०८ : ०८ मा प्रकाशित

नेपाल लाइफद्वारा किओचलाई रु १ करोडको सहयोग, बाल अस्पताल निर्माणमा मिल्यो साथ

बाल स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरनाफामूलक संस्था काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) ले राजधानीमा निर्माणाधीन बहुविशिष्टीकृत बाल अस्पतालको निर्माणमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट रु १ करोड आर्थिक सहयोग प्राप्त गरेको छ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरिएको उक्त सहयोगसम्बन्धी समझदारी पत्रमा किओचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला र नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली बीच हस्ताक्षर भएको हो।

बुढानीलकण्ठमा ‘हब’ अस्पतालको निर्माण अन्तिम चरणमा

काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–७ मा निर्माणाधीन बाल अस्पताल किओच–काठमाडौँ अहिले अन्तिम चरणमा पुगेको छ। मुख्य भवन निर्माण कार्य जारी रहँदा, क्लिनिकल रिसर्च बिल्डिङ निर्माण सम्पन्न भई सेवा सञ्चालनमा आइसकेको छ। यसले बालबालिकालाई उपचार सेवा दिनुका साथै नसर्ने रोग र बाल स्वास्थ्यसम्बन्धी अनुसन्धानमा पनि योगदान दिइरहेको छ।

सीएसआर सहयोगले राष्ट्रिय स्वास्थ्य नीतिलाई टेवा

कार्यक्रममा बोल्दै नेपाल लाइफका सञ्चालक कमलेश कुमार अग्रवाल ले डा. कोइरालाको अगुवाइमा सञ्चालित किओच परियोजनाले नेपालको बाल स्वास्थ्य क्षेत्रमा उल्लेखनीय सुधार ल्याउने बताउनुभयो। यस्तो पहलले सरकारी स्वास्थ्य नीतिलाई सहयोग पुर्‍याउने मात्र होइन, दूरदराजका बालबालिकालाई पनि गुणस्तरीय उपचारमा पहुँच दिलाउने विश्वास व्यक्त गर्नुभयो। नेपाल लाइफ यस्तो जीवनदायिनी परियोजनामा संलग्न हुन पाउँदा गौरवान्वित भएको उहाँले उल्लेख गर्नुभयो।

सातै प्रदेशमा सुविधायुक्त बाल अस्पताल निर्माणमा प्रतिबद्धता

नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली ले कम्पनीले सामाजिक, शैक्षिक, आर्थिक र संस्कृतिक क्षेत्रका रूपान्तरणका लागि विभिन्न  कार्यक्रमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो। किओचलाई प्रदान गरिएको रु १ करोड सहयोगले सामान्य आर्थिक अवस्थाका बालबालिकालाई विशेषज्ञ चिकित्सकबाट सेवा प्राप्त हुने आशा व्यक्त गर्दै उहाँले आगामी दिनमा देशभर सातवटै प्रदेशमा बाल अस्पताल निर्माणमा पनि साथ दिने प्रतिबद्धता जनाउनुभयो।

किओचका अध्यक्ष डा. भगवान कोइरालाले नेपाल लाइफको सहयोगले परियोजनामा थप गति र मनोबल प्राप्त भएको उल्लेख गर्नुभयो। नेपालजस्तो प्रतिष्ठित कम्पनीसँग सहकार्य गर्न पाउनु गर्वको कुरा भएको भन्दै आगामी दिनमा पनि यस्तै सहयोगको अपेक्षा व्यक्त गर्नुभयो।

किओच एक केन्द्रीय श्रोत केन्द्रका रूपमा स्थापना गरिएको संस्था हो, जसको उद्देश्य बहुविशिष्टीकृत बाल अस्पताल सञ्चालन गर्नुका साथै नीतिगत सल्लाह, दक्ष जनशक्ति उत्पादन, नियमन प्रणाली विकास लगायत विविध कार्यमा केन्द्रीत रहेको छ।

यस परियोजनाअन्तर्गत हालसम्म ‘किओच–दमक बाल अस्पताल’ स्थापना भई सेवा सञ्चालनमा आइसकेको छ। यस अस्पतालबाट बाहिरी, आकस्मिक, अन्तरङ्ग, प्रयोगशाला, रेडियोलोजी, PICU, NICU, HDU सेवा प्रदान भइरहेको छ। त्यस्तै, शल्यक्रिया सेवाका लागि मोडुलर अपरेसन थिएटर पनि सञ्चालनमा आइसकेको किओचले जनाएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको