Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकले जारी गर्यो लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ - कुन-कुन बिषय समेटिए ?

अर्थ संसार

आइतबार, ०४ साउन २०८२, १५ : ०५ मा प्रकाशित

राष्ट्र बैंकले जारी गर्यो लाभांश वितरणसम्बन्धी मार्गदर्शन २०८२ - कुन-कुन बिषय समेटिए ?

नेपाल राष्ट्र बैंकले भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्था (बैंक तथा वित्तीय संस्था बाहेक) का लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, '२०८२' जारी गरेको छ। 

राष्ट्र बैंकका अनुसार, मार्गदर्शनले संस्थाहरूको मुनाफा वितरण र पुनःलगानीलाई प्रभावकारी बनाउँदै उनीहरूको जोखिम बहन गर्ने क्षमता र कार्यक्षमतामा वृद्धि गर्नेछ। यसले सुरक्षित, स्वस्थ र सक्षम भुक्तानी प्रणालीको विकासमा पनि योगदान पुर्‍याउने बताइएको छ।

मार्गदर्शनअनुसार, अनुमति प्राप्त संस्थाले लाभांश वितरण नीति तर्जुमा गरी सञ्चालक समितिबाट पारित गर्नुपर्नेछ। यो नीतिमा नियामकीय पूँजी कायम गर्ने योजना र प्राथमिकतासहित नगद तथा शेयर लाभांश वितरणसम्बन्धी व्यवस्था समावेश गर्नुपर्नेछ। साथै, जोखिम बहन कोष र जगेडा कोष तयार गर्ने र मुनाफाबाट निश्चित प्रतिशत रकम छुट्याउने व्यवस्था गर्नुपर्नेछ। जोखिम बहन कोष अप्रत्याशित घटनाबाट हुने क्षतिको व्यवस्थापनका लागि प्रयोग गर्न सकिनेछ र कोषमा भएको खर्चको विवरण राष्ट्र बैंकलाई जानकारी गराउनुपर्नेछ।

भुक्तानी प्रणाली सञ्चालकले पूर्वाधार विकास कोषको पनि व्यवस्था गरी मुनाफाको निश्चित हिस्सा जम्मा गर्नुपर्नेछ, जसलाई पूर्वाधार विस्तार र राष्ट्र बैंकले तोकेका अन्य कोषहरूमा खर्च गर्न सकिनेछ।

लाभांश वितरणका पूर्वशर्तहरूमा संस्थाको वित्तीय अवस्था सबल हुनु पर्ने उल्लेख छ। लाभांश घोषणा गर्दा सञ्चित मुनाफा ऋणात्मक नहुनुपर्ने, मुनाफामा भएको वर्षको वित्तीय विवरणका आधारमा मात्र लाभांश घोषणा गर्नुपर्ने, शेयर प्रिमियम वा ‘बार्गेन पर्चेज गेन’ बाट नगद लाभांश दिन नपाइने, नगद लाभांश घोषणा गर्दा पर्याप्त नगद मौज्दात हुनुपर्ने लगायतका व्यवस्था गरिएको छ। साथै, कर्जासँग सम्बन्धित ‘लोन कन्भेन्स’ ले लाभांश वितरणमा रोक नलगाएको र राष्ट्र बैंकको निरीक्षणमा वित्तीय दायित्व सिर्जना हुने खालका गम्भीर समस्या नरहेको हुनुपर्ने व्यवस्था पनि छ।

कोषहरूमा रकम छुट्याइसकेपछि बाँकी रहेको सञ्चित मुनाफाबाट मात्र लाभांश वितरण प्रस्ताव गर्न सकिनेछ। लाभांश वितरणका लागि वित्तीय विवरण प्रकाशन गर्ने स्वीकृति सँगै लाभांश प्रस्ताव राष्ट्र बैंकबाट पूर्व स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको