Like us!
Follow us!
Connect us!
Watch us!

मनमोहन बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएका छन् : जनार्दन शर्मा

अर्थ संसार

मंगलबार, ०६ साउन २०८२, १५ : ५९ मा प्रकाशित

मनमोहन बाहेकका कम्युनिष्ट नेताले असुली धन्दा चलाएका छन् : जनार्दन शर्मा

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले नेपालमा कम्युनिस्ट नेतृत्वका सरकारहरूले जनअपेक्षाअनुसार काम गर्न नसकेको, बरु असुली धन्दामा लागेको ठहर जनाएका छन्।

पुष्पलाल स्मृति दिवसको अवसरमा मंगलबार काठमाडौंको राष्ट्रिय सभागृहमा मार्क्सवादी अध्ययन केन्द्रले आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले यस्तो धारणा राखेका हुन्।

उनले मनमोहन अधिकारी बाहेकका अधिकांश कम्युनिस्ट प्रधानमन्त्रीहरू भ्रष्टाचार र असुलीमा लिप्त रहेको उल्लेख गर्दै देशको बहुआयामिक गरिबी, पहिचानका मुद्दा र युवाशक्ति विदेश पलायन जस्ता गम्भीर समस्या समाधान नहुनुमा कम्युनिस्ट नेतृत्वको कमजोरी भएको बताए।

'प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा समस्या समाधान हुन्छ,' शर्माले भने, 'तर हाम्रो नेतृत्वमा त्यो संकल्प देखिएन। दुःखका साथ भन्नुपर्छ, मनमोहन अधिकारी बाहेक अन्य कम्युनिस्ट नेताहरूले असुली धन्दा गर्‍यै छन्, यो आरोप होइन, यथार्थ हो।'

उनले हालसम्म ९ पटक कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार बने पनि जनताको जीवनमा खासै परिवर्तन नआएको भन्दै गम्भीर चिन्ता व्यक्त गरे।

'आज पनि उत्पीडित समुदायमाथि अन्याय भइरहेको छ, पहिचानका मुद्दा हराउँदै गएका छन्, लाखौं युवाहरू विदेशमा श्रम गरिरहेका छन्। यसरी ९–९ पटक सरकारको नेतृत्व गर्दा हामीले के बदल्यौं?' उनले प्रश्न गरे।

शर्माले यो अवस्था सुधार्न कम्युनिस्ट पार्टीहरूले आफ्ना कार्यशैली र व्यवहारमा आमूल परिवर्तन गर्नुपर्नेमा जोड दिए। 'यो केवल आत्मसमीक्षा होइन, समाज परिवर्तनको नयाँ अभियानको सुरुवातको प्रश्न हो,' उनले भने।

 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको