Like us!
Follow us!
Connect us!
Watch us!

वित्तीय संस्थाहरूमा निक्षेप बढ्दा पनि अपेक्षित रूपमा बढ्न सकेन कर्जा प्रवाह - कारण के ?

अर्थ संसार

शुक्रबार, ०९ साउन २०८२, १० : ४१ मा प्रकाशित

वित्तीय संस्थाहरूमा निक्षेप बढ्दा पनि अपेक्षित रूपमा बढ्न सकेन कर्जा प्रवाह - कारण के ?

गत आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेपमा उल्लेखनीय वृद्धि भएको छ।

नेपाल राष्ट्र बैंकबाट प्राप्त असार मसान्तसम्मको तथ्यांकअनुसार, २०८१ असारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ६४ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप रहेको थियो भने २०८२ असार मसान्तसम्म त्यो बढेर ७२ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ। यसले गत आवमा निक्षेपमा करिब १२.२५ प्रतिशतको वृद्धि भएको देखाउँछ। यो वृद्धि झण्डै ८ खर्ब रुपैयाँको बराबर छ, जुन निक्षेप संकलनमा उल्लेखनीय प्रगति मानिएको छ।

महिनावार विवरण अनुसार, गत आवको सुरुमै साउनमा निक्षेप ४९ अर्ब रुपैयाँले घटेको थियो, तर त्यसपछि भदौमा ८१ अर्ब रुपैयाँ, असोजमा एक खर्ब ३४ अर्ब रुपैयाँले निक्षेपमा ठुलो वृद्धि देखिएको छ। कात्तिक महिनामा फेरि १८ अर्ब रुपैयाँले निक्षेप घटे पनि मंसिर, पुस र फागुनमा क्रमशः ३७ अर्ब, ५७ अर्ब र ३७ अर्ब रुपैयाँले निक्षेप बढेको छ। चैत, वैशाख, जेठ र असारमा पनि क्रमशः ९२ अर्ब, २४ अर्ब, एक खर्ब २० अर्ब र दुई खर्ब ८७ अर्ब रुपैयाँले निक्षेप वृद्धिमा योगदान पुर्याएको छ।

विशेषगरी, बढ्दो रेमिट्यान्सले निक्षेप वृद्धिमा ठुलो भूमिका खेलेको छ। साथै, असार महिनामा भएको उच्च सरकारी खर्चले पनि निक्षेप वृद्धिमा सहयोग पुर्‍याएको बैंकरहरूले बताएका छन्। 

यता, कर्जा प्रवाहमा भने अपेक्षाकृत कम वृद्धि भएको छ। २०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले कुल ५१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए भने २०८२ असारसम्म यो रकम बढेर ५६ खर्ब रुपैयाँ पुगेको छ। यसले कर्जा प्रवाहमा ८.३१ प्रतिशतको वृद्धि देखाएको छ, जुन निक्षेप वृद्धिको तुलनामा कम हो।

राष्ट्र बैंकले गत आवमा कर्जा प्रवाह साढे १२ प्रतिशतले बढाउने लक्ष्य लिएको थियो, तर आर्थिक गतिविधि मन्द भएकाले कर्जा माग सो लक्ष्यमा पुग्न सक्न सकेको छैन। बैंकरहरूका अनुसार, आर्थिक अवस्था सुधार नभएकाले तथा ऋण लिन इच्छुक ग्राहकको कमीका कारण कर्जा माग अपेक्षित रूपमा बढ्न सकेको छैन। बैंकहरूले ब्याजदर घटाए पनि कर्जा मागमा उल्लेखनीय बृद्धि नभएकाले यस विषयमा चिन्ता रहेको छ।

महिनावार कर्जा प्रवाहमा पनि उतार-चढाव देखिन्छ। साउनमा तीन अर्ब, भदौमा ५८ अर्ब र असोजमा ६५ अर्ब रुपैयाँ कर्जा प्रवाह बढेको थियो। कात्तिकमा सात अर्ब रुपैयाँले कर्जा प्रवाह घटेको भए पनि मंसिरमा ४४ अर्ब, पुसमा एक खर्ब चार अर्ब, माघमा पाँच अर्ब, फागुनमा २३ अर्ब र चैतमा ७२ अर्ब रुपैयाँले कर्जा प्रवाह बढेको देखिन्छ। बैशाखमा आठ अर्ब रुपैयाँले घटेको कर्जा प्रवाह जेठमा ३८ अर्ब र असारमा ३३ अर्ब रुपैयाँले पुनः बढेको छ।

यसरी, बैंक तथा वित्तीय संस्थाहरूले निक्षेपमा राम्रो वृद्धिदेखाएका छन् भने कर्जा प्रवाहमा सन्तोषजनक भए पनि अझै बढ्ने सम्भावना र आवश्यकता रहेको देखिन्छ। आर्थिक गतिविधि तीव्र र व्यापक नहुँदा कर्जा मागमा अपेक्षित वृद्धिलाई अवरोध आएको छ। तर, चार खर्ब ३० अर्ब रुपैयाँले कर्जा प्रवाह वृद्धि हुनु सकारात्मक संकेत मानिन्छ। बैंकहरूले आगामी दिनमा वित्तीय प्रणालीलाई थप मजबुत बनाउने र आर्थिक गतिविधिलाई सक्रिय बनाउने उद्देश्यले कर्जा प्रवाहमा ध्यान केन्द्रित गरिरहेको बताइन्छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको