नेपाल सेयर बजार लगानीकर्ता संघका पदाधिकारीहरू र नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठबीच भेटघाट भएको छ । संघका पदाधिकारी र अध्यक्ष श्रेष्ठ बीच शुक्रबार भेट भएको हो ।
उक्त भेटमा पुँजी बजारका समसामयीक विषयमा गहन छलफल भएको संघले जनाएको छ । संघका अध्यक्ष डा. केशव श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले पुँजीबजारमा देखिएका वर्तमान चुनौतीहरू र तिनको समाधानका लागि धितोपत्र बोर्डले निर्वाह गर्नुपर्ने भूमिकाबारे आफ्नो धारणा राखेको हो । संघले यसअघि धितोपत्र बोर्डमा पेश गरेका मुद्दाहरूलाई पुनः स्मरण गराउँदै एक औपचारिक पत्र समेत अध्यक्ष श्रेष्ठलाई हस्तान्तरण गरेको छ ।
छलफलका क्रममा संघका महासचिव रबिन कँडेलले विगतमा बोर्डसँग भएको भेटमा उठाइएका विषयहरूको कार्यान्वयन अवस्था र रणनीतिक प्रश्नहरू आम लगानीकर्ताको तहसम्म पुर्याउनुपर्ने आवश्यकतामा जोड दिए । विशेषगरी, (सिडिएससी) द्वारा क्ष्क्क्ष्ल् नम्बरमा चालिएका कदमहरू र यस सन्दर्भमा धितोपत्र बोर्डको आवश्यक भूमिकाबारे पनि विस्तृत छलफल भएको थियो। सहभागी पदाधिकारीहरूले बजारलाई गतिशील, पारदर्शी र जवाफदेही बनाउन धितोपत्र बोर्डले नियामक निकायको रूपमा आफ्नो भूमिकालाई प्रभावकारी ढंगले निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् ।
जवाफमा बोर्डका अध्यक्षसन्तोष नारायण श्रेष्ठले धितोपत्र बोर्डले नियामकको रूपमा काम गर्दा सामना गर्नुपर्ने चुनौती र जोखिमका साथै भविष्यमा पुँजीबजारको विकासका लागि सबै सरोकारवालाहरूको सकारात्मक सहयोग अपरिहार्य रहेको बताए । लगानीकर्ता संघले ‘वाच डग’ को भूमिका खेल्नुपर्ने आवश्यकतालाई स्वीकार गर्दै उनले दबाब वा प्रभावमा भन्दा पनि न्यायका सिद्धान्त र कानूनी परिधिभित्र रहेर मात्र काम गर्न सकिने स्पष्ट पारे ।
अध्यक्ष श्रेष्ठले संघले पेश गरेका दस्तावेज र आज छलफल गरिएका विषयहरूको गम्भीरतापूर्वक अध्ययन गरी आवश्यकताअनुसार पुनः छलफलमा बस्ने प्रतिबद्धता समेत व्यक्त गरे । उक्त छलफलमा लगानीकर्ता संघका तर्फबाट अध्यक्ष डा. केशव श्रेष्ठ, उपाध्यक्ष इन्जिनियर भगवानबहादुर रावत, महासचिव रबिन कँडेल, सचिव भुवन ढकाल, सदस्यहरू श्यामहरि सेढाईं, मिना भट्ट र विवेक श्रेष्ठको उपस्थिति रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस