Like us!
Follow us!
Connect us!
Watch us!

बर्षदिनमा ८३ अर्बको थप धितोपत्र सूचीकृत - बजार पुँजीकरण ११ खर्बले बढ्दा बैंक वित्तीय संस्थाको हिस्सा कति ?

अर्थ संसार

सोमबार, ०९ भदौ २०८२, १४ : ३१ मा प्रकाशित

बर्षदिनमा ८३ अर्बको थप धितोपत्र सूचीकृत - बजार पुँजीकरण ११ खर्बले बढ्दा बैंक वित्तीय संस्थाको हिस्सा कति ?

आर्थिक वर्ष २०८१/८२ मा नेपाल धितोपत्र बोर्डमा ८३ अर्ब १९ करोड रुपैयाँ बराबरका नयाँ धितोपत्रहरू सूचीकृत भएका छन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार, सो अवधिमा साधारण सेयर (IPO), बोनस, हकप्रद, एफपीओ, म्युचुअल फण्ड तथा अन्य सेयरहरू गरी यो परिमाणको धितोपत्र बजारमा सूचीकृत गरिएको हो।

राष्ट्र बैंकको रिपोर्टअनुसार, गत वर्ष ४० अर्ब २१ करोड रुपैयाँ बराबरका साधारण सेयरहरू सूचीकृत भएका छन् । यस्तै, २४ अर्ब ४२ करोड बराबरका बोनस सेयर, १३ अर्ब २३ करोड बराबरका हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरका म्युचुअल फण्ड, ११ करोड २० लाख बराबरको एफपीओ र ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर गरी कुल ८३ अर्ब १९ करोड बराबरको धितोपत्र सूचीकृत भएको हो।

यो अवधिमा  नेपाल धितोपत्र बोर्डले ४५ अर्ब १६ करोड रुपैयाँ बराबरका धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ। बोर्डले १५ अर्ब ४१ करोड बराबरको हकप्रद सेयर,१५ अर्ब २० करोड बराबरको म्युचुअल फण्ड, १० अर्ब ६२ करोड बराबरको डिबेन्चर र ३ अर्ब ९३ करोड बराबरको साधारण सेयर निष्कासन गर्न स्वीकृति प्रदान गरेको छ। २०८२ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २७२ पुगेको छ। तीमध्ये १३२ कम्पनी बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीहरू छन्। त्यस्तै, ९१ जलविद्युत् कम्पनी, २३ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ८ अन्य समूहका कम्पनीहरू रहेका छन्। अघिल्लो वर्ष २०८१ असार मसान्तमा यो संख्या २७० थियो।

सूचीकृत कम्पनीहरू मध्ये बैंक, वित्तीय संस्था तथा बीमा कम्पनीको धितोपत्र बजार पुँजीकरणमा ५४.१ प्रतिशत हिस्सा रहेको छ। यस्तै, जलविद्युत् कम्पनीको १५.३ प्रतिशत, लगानी कम्पनीको ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको ५.४ प्रतिशत, व्यापारिक संस्थाको ५.० प्रतिशत, होटलहरूको २.७ प्रतिशत र अन्य समूहको ९.८ प्रतिशत हिस्सा रहेको छ। २०८२ असार मसान्तसम्म नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ८ अर्ब ८२ करोड कित्ता सेयरको चुक्ता मूल्य ८ खर्ब ६९ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। सोही अवधिमा धितोपत्र बजार पुँजीकरण ४६ खर्ब ५६ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा बजार पुँजीकरण ३५ खर्ब ५३ अर्ब ६८ करोड रहेको थियो।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको