बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले आज भदौ ११ गतेदेखि सर्वसाधारण लगानीकर्तालाई लक्षित गरी आफ्नो प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको छ।
कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि छुट्टै किसिमले आईपीओ निष्काशन गरी बाँडफाँट गरिसकेको थियो। त्यस्तै, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि समेत छुट्याइएको सेयर वितरण कार्य सम्पन्न भइसकेको छ। अब दोस्रो चरणमा कम्पनीले सर्वसाधारणबाट पूँजी संकलनको प्रक्रिया अघि बढाएको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट प्राप्त स्वीकृतिअनुसार जारी पूँजी २ अर्ब ८३ करोड रुपैयाँको २०.७०६७ प्रतिशत अर्थात ५८ लाख ६० हजार कित्ता सेयर निष्काशन गर्न अनुमति पाएको हो।
यस मध्ये आयोजना प्रभावित बासिन्दाका लागि ५ लाख ६६ हजार कित्ता, वैदेशिक रोजगारमा रहेका नेपालीका लागि ५ लाख २९ हजार ४०० कित्ता, कर्मचारीका लागि १ लाख ५८ हजार ८२० कित्ता र सामूहिक लगानी कोषका लागि २ लाख ६४ हजार ७०० कित्ता सेयर छुट्याइएको थियो। बाँडफाँट कार्य सम्पन्न भएपछि अब सर्वसाधारणका लागि ४३ लाख ४१ हजार ८० कित्ता सेयर निष्काशन हुँदैछ।
आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ। आवेदन अवधि छिटोमा भदौ १५ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरेमा भदौ २५ गतेसम्म खुला रहनेछ।
केयर रेटिङ्ग नेपालले कम्पनीलाई “केयर एनपी डबल बी इश्यूअर रेटिङ्ग” प्रदान गरेको छ। यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले सञ्चालन गरिरहेको आयोजनाको अनुमानित लागत ३ अर्ब ८५ करोड रुपैयाँ रहेको छ। साधारण अवस्थामा लगानी फिर्ता हुने अवधि ८.२२ वर्ष र डिस्काउन्ट क्यास फ्लोमा १०.०५ वर्ष रहने अनुमान गरिएको छ।
यस आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताले सि-आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु वा मेरो शेयर अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस