Like us!
Follow us!
Connect us!
Watch us!

बन्दीपुर पर्यटनमा अन्तर्राष्ट्रिय प्रवेश, लेमन ट्री होटल्ससँग १५ वर्षे फ्रेन्चाइजी सम्झौता सम्पन्न

अर्थ संसार

विहीबार, ०३ पुस २०८२, ०७ : ३९ मा प्रकाशित

बन्दीपुर पर्यटनमा अन्तर्राष्ट्रिय प्रवेश, लेमन ट्री होटल्ससँग १५ वर्षे फ्रेन्चाइजी सम्झौता सम्पन्न

बन्दीपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा सक्रिय बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडले अन्तर्राष्ट्रिय होटल ब्राण्डसँग सहकार्य गर्दै आफ्नो होटल सञ्चालनलाई नयाँ चरणमा प्रवेश गराएको छ। कम्पनीले भारतमा आधारित प्रतिष्ठित होटल समूह लेमन ट्री होटल्स लिमिटेडसँग १५ वर्षे फ्रेन्चाइजी तथा व्यवस्थापन सम्झौता सम्पन्न गरेको हो।

सम्झौतामा आज काठमाडौंमा आयोजित विशेष समारोहबीच बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडका तर्फबाट इन्जिनियर विष्णु पन्थी र लेमन ट्री होटल्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विलास पवारले हस्ताक्षर गरेका हुन्। कार्यक्रममा बन्दीपुर केबल कारका अध्यक्ष रामचन्द्र शर्मा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. रोमन मान श्रेष्ठ, आरकेडीका कार्यकारी समन्वय अधिकृत वसन्त शर्मा लगायतको उपस्थिति रहेको थियो।

सम्झौतापछि बन्दीपुरमा सञ्चालनमा रहेको होटल अब लेमन ट्री होटल्सको अन्तर्राष्ट्रिय ब्राण्ड अन्तर्गत सञ्चालन हुनेछ। यस सहकार्यले होटल व्यवस्थापन प्रणाली, सेवा गुणस्तर मापदण्ड, अन्तर्राष्ट्रिय बजारमा पहुँच, मानव संशाधन विकास र विश्वव्यापी आरक्षण प्रणालीसँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

लेमन ट्री होटल्स एशिया तथा मध्यपूर्व क्षेत्रमा सशक्त उपस्थिति बनाइसकेको होटल समूह हो। यसको अन्तर्राष्ट्रिय नेटवर्क, कर्पोरेट ट्राभल सेग्मेन्टमा पकड र लक्जरीदेखि मध्यम वर्गसम्मको ग्राहक आधारले बन्दीपुरलाई विश्व पर्यटन नक्सामा थप मजबुत रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

कम्पनीले यस सहकार्यलाई दीर्घकालीन रणनीतिक निर्णयका रूपमा लिएको जनाएको छ। अन्तर्राष्ट्रिय ब्राण्डसँगको साझेदारीबाट होटलको अकुपेन्सी दरमा वृद्धि, स्थिर राजस्व प्रवाह, विदेशी मुद्रा आम्दानी तथा कम्पनीको ब्राण्ड मूल्यमा दीर्घकालीन सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।

यस सम्झौताले लगानीकर्ताको विश्वास मजबुत बनाउने, बजारमा कम्पनीको विश्वसनीयता बढाउने तथा पर्यटन–केन्द्रित दीर्घकालीन व्यवसायिक विस्तारको सम्भावनालाई स्पष्ट बनाउने विश्वास गरिएको छ। साथै, बन्दीपुर केवलकार, होटल व्यवसाय र गन्तव्य पर्यटनबीचको सहकार्यले समग्र व्यवसायिक दायरा विस्तार हुने अनुमान गरिएको छ।

सम्झौतापछि बन्दीपुर क्षेत्रमा अन्तर्राष्ट्रिय पर्यटकको आगमन बढ्ने, स्थानीय स्तरमा रोजगारीका अवसर सिर्जना हुने, सेवाको गुणस्तरमा सुधार आउने तथा पर्यटन पूर्वाधार थप सबल बन्ने अपेक्षा गरिएको छ। कम्पनीका अनुसार बन्दीपुरस्थित होटल छिट्टै लेमन ट्री होटल्सको आधिकारिक ब्राण्ड नाम र मापदण्डअनुसार सञ्चालनमा आउनेछ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको