Like us!
Follow us!
Connect us!
Watch us!

आन्दोलनको केन्द्रमा बैंक तथा वित्तीयसंस्था - शाखा लुटपाट, एटीएम तोडफोड र गभर्नरको घरमा आगजनी

अर्थ संसार

शुक्रबार, २७ भदौ २०८२, १० : ४२ मा प्रकाशित

आन्दोलनको केन्द्रमा बैंक तथा वित्तीयसंस्था - शाखा लुटपाट, एटीएम तोडफोड र गभर्नरको घरमा आगजनी

शान्तिपूर्ण भनिएको भदौ २३ गतेको जेनरेसन जेड (जेनजी) आन्दोलनमा सरकारले गरेको दमनपछि सुरु भएको हिंसात्मक आन्दोलनले देशभर गम्भीर क्षति पुर्‍याएको छ। संसद् भवनअगाडि भएको प्रदर्शनमा सुरक्षाकर्मीले बल प्रयोग गर्दा सुरुमा १९ जनाको मृत्यु भएको थियो भने पछिल्लो तथ्यांकअनुसार मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

सरकारी दमनको विरोधमा भदौ २४ गते देशभर आन्दोलन चर्किएको हो। राजधानी काठमाडौंसहित देशका विभिन्न स्थानमा सरकारी र सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको छ। आन्दोलनकारीले संसद् भवन, सिंहदरबार, सर्वोच्च अदालत, विशेष अदालत, प्रधानमन्त्री र राष्ट्रपतिको सरकारी निवासमा समेत क्षति पुर्‍याएका छन्।

यस्तै, राजनीतिक दलका कार्यालय, नेताहरूका निजी घर, सरकारी कार्यालय, उद्योगधन्दा तथा निजी सम्पत्तिहरूमा समेत आन्दोलनकारीले आक्रमण गरेका छन्।

बैंक र वित्तीय संस्था आन्दोलनको मुख्य निशाना

२४ गतेको आन्दोलनका क्रममा देशभरका बैंक तथा वित्तीय संस्थामा तोडफोड, लुटपाट र आगजनीका घटना व्यापक रूपमा भएका छन्। प्राप्त तंथ्याक अनुसार हालसम्म देशभर ६० भन्दा बढी शाखामा क्षति पुगेको छ भने दर्जनौं एटीएम बुथमा तोडफोड र लुटपाट भएको छ।

बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंकको शाखामा आन्दोलनकारीले तोडफोड गर्दै नगद लुटपाटको प्रयास गरेका थिए। सो घटनामा संलग्न पाँच जनालाई सेनाले नियन्त्रणमा लिएको छ। नगद भने सुरक्षित रहेको बैंक स्रोतले जनाएको छ। त्यसैदिन बत्तिसपुतलीस्थित मारवाडी सेवा समितिको भवनमा आगजनी हुँदा हिमालयन बैंकको शाखा पूर्ण रूपमा ध्वस्त भएको छ। थापाथलीको सेन्ट्रल बिजनेस पार्कमा गरिएको आगजनीबाट ग्लोबल आईएमई बैंकको शाखा कार्यालय र नेपाल बैंकर्स संघको कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्।

अन्य शाखामा पनि क्षति

चितवनको भरतपुर र मोरङको विराटनगरमा रहेको स्ट्यान्डर्ड चार्टर्ड बैंकका शाखा कार्यालयमा पनि तोडफोड र आगजनी गरिएको छ। त्यस्तै, कलंकीस्थित भाटभटेनी कम्प्लेक्समा रहेको हिमालयन र एनआईसी एशिया बैंकका एटीएमहरूमा पनि तोडफोड र लुटपाट भएको छ।

कृषि विकास बैंकको केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी अशोक श्रेष्ठलाई कार्यालयमै काम गरिरहेको बेला गोली लागेको छ। लहान शाखा रहेको भवनमा आगजनी, किर्तिपुर शाखाको एटीएममा तोडफोड र धनगढी शाखाको सवारीसाधनमा क्षति पुगेको पुष्टि भएको छ।

गभर्नरको घरमा पनि आगजनी

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलको काठमाडौं र चितवनस्थित निजी निवासमा आन्दोलनकारीले आगजनी गरेका छन्। उनी कांग्रेस निकट भएकाले पद पाएको भन्दै प्रदर्शनकारीहरूले उनको घरमा आक्रमण गरेका हुन्। पौडेलले सार्वजनिक रूपमा प्रतिक्रिया दिँदै आफूले कसैको पैसा नखाएको र निजि सम्पत्तिमा आक्रमण हुनु अनुचित भएको बताएका छन्।

बैंक सेवा प्रभावित

मंगलबार आंशिक रूपमा खुलेका बैंकहरू बुधबारदेखि पूर्ण रूपमा बन्द भएका थिए। बिहीबारदेखि केही शाखाहरूले आंशिक सेवा पुनः सुरु गरेका छन्। तर, सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य नभएको बैंकको भनाइ छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको