देशको बैंकिङ प्रणालीमा तरलता दैनिकजसो बढ्दै गएको छ, तर कर्जाको माग घट्दो भने देखिन्छ। बैंकहरूले निक्षेप संकलन गरिरहेका छन्, तर कर्जा प्रवाह भने अत्यन्तै सुस्त भइरहेको छ। यसले बैंकिङ प्रणालीको प्रभावकारिता र आर्थिक चक्रको गति दुबैप्रति प्रश्न उठाउन थालेको छ।
नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकअनुसार सीडी रेसियो ७६.९९ प्रतिशतमा झरेको छ, जुन ७७ प्रतिशतभन्दा तल आएको छ। । यसले बैंकहरूसँग पर्याप्त तरलता भए पनि त्यसको सदुपयोग हुन नसकेको स्पष्ट देखाँउछ।
असार महिनाको सुरुवातसँगै अधिकांश बैंकहरू कर्जा प्रवाहभन्दा असुली प्रक्रियामा केन्द्रित भएका छन्। चौथो त्रैमासको वित्तीय प्रतिवेदन आउनुअघि कर्जाको असुली सुधारिएमा नाफामा प्रत्यक्ष असर पर्न सक्ने भएकाले बैंकहरू ऋण प्रवाहको साटो कर्जाको असुलीमा केन्द्रित देखिन्छन्।
देशमै लगानी वातावरण कमजोर हुनु र युवाशक्ति वैदेशिक रोजगारीतर्फ धकेलिनु ,उत्पादनशील क्षेत्रमा लगानी घट्दा कर्जाको माग पनि कमजोर देखिनुले समग्र अर्थतन्त्रमा स्थायित्व र दिगोपनाको सवाल पनि खडा गरेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार शनिबारसम्म बैंकिङ प्रणालीमा कुल निक्षेप ७१ खर्ब ५२ अर्ब रुपैयाँ पुगेको छ, भने कर्जा लगानी ५५ खर्ब ८२ अर्ब रुपैयाँमा सीमित छ। वाणिज्य बैंकहरूले मात्र ६४ खर्ब ४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्, तर कर्जा प्रवाह ४९ खर्ब ६१ अर्ब रुपैयाँमा अडिएको छ।
देशको बैंकिङ प्रणाली पैसा संकलन गर्न त सक्षम छ, तर त्यसलाई उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्न असफल हुँदै गइरहेको तथ्यांकले देखाउँछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस