‘जेन जी’ आन्दोलनका क्रममा देशभर भएको आगजनी, लुटपाट र तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान र कारबाही प्रक्रिया अघि बढाउन नेपाल प्रहरीले आम नागरिकलाई प्रमाणसहित सहयोग गर्न आग्रह गरेको छ।
नेपाल प्रहरीले शुक्रबार सार्वजनिक अपिल जारी गर्दै काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा आन्दोलनको नाममा भएका हिंसात्मक र आपराधिक गतिविधिहरू जस्तै सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, लुटपाट, तोडफोड र सर्वसाधारणमा त्रास फैलाउने कार्य — का तस्बिर, भिडियो तथा सामाजिक सञ्जालका लिंकहरू उपलब्ध गराउन अनुरोध गरेको हो।
यस्ता प्रमाणहरू नेपाल प्रहरीको आधिकारिक इमेल ठेगाना [email protected]
मा पठाउन अनुरोध गरिएको छ। प्रहरीका अनुसार, प्रमाण उपलब्ध गराउने व्यक्तिहरूको पहिचान तथा गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिनेछ। भदौ २३ र २४ गते ‘जेन जी’ आन्दोलन उत्कर्षमा पुग्दा देशभर थुप्रै सार्वजनिक तथा निजी भौतिक संरचना ध्वस्त पारिए। नगद, गरगहना, जिन्सी समान लुटिएका मात्र होइन, सरकारी कार्यालय र सुरक्षासम्बन्धी संरचनामा समेत व्यापक क्षति पुगेको प्रहरीको भनाइ छ। आन्दोलनमा प्रहरीका कार्यालय, व्यारेक र स्रोतहरू स्वयं आक्रमणको निशानामा परेका छन्। प्रहरीका अनुसार हतियार, पोशाकदेखि खाना पकाउने दाल, चामलसम्म लुटिएका छन्, जसले सुरक्षाको अवस्था झनै जटिल बनाएको छ। प्रहरीले यसअघि चैत १५ गतेको राजावादी प्रदर्शनमा उच्छृंखल गतिविधिमा संलग्न अधिकांश व्यक्तिको पहिचान गरी कारबाही अगाडि बढाएको जनाउँदै यसपटक पनि प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइने स्पष्ट पारेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस