नेपाल प्रहरीका महानिरीक्षक चन्द्रकुवेर खापुङले भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नु परेको बताएका छन्।
७० औं प्रहरी दिवस २०८२ को अवसरमा शुक्रबार आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रममा बोल्दै उनले राज्यको अग्र पंक्तिमा सेवारत नेपाल प्रहरी संस्था आजसम्म नागरिकको स्नेह र आक्रोश समानान्तर रूपमा ग्रहण र सामना गर्दै आएको सशक्त राज्य प्रतिनिधिका रूपमा स्थापित भएको उल्लेख गरे।
उनले भने, 'राज्यको सबैभन्दा अग्र पंक्तिमा सेवारत विशाल संयन्त्रयुक्त संगठनको रूपमा विकसित भएको नेपाल प्रहरी आजका दिनसम्म नागरिकको स्नेह,आक्रोश समानान्तर रूपमा प्राप्त र सामना गर्ने राज्यको सशक्त प्रतिनिधिको रूपमा स्थापित हुन सफल भएको छ।'
महानिरीक्षक खापुङले हालको राजनीतिक परिवर्तनको परिस्थितिमा र आगामी दिनहरूमा समेत उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र असहज अवस्थाको सामना गर्दै आम नागरिकलाई शान्ति, सुरक्षा र अमन चयनको प्रत्याभूति दिन नेपाल प्रहरी व्यवसायिक रूपमा सक्षम र प्रतिवद्ध रहेको बताए। उनले नेपाल प्रहरीबिना समाजको परिकल्पना गर्न नसकिने स्पष्ट पार्दै हाल देशभर ९३९ स्थानमा नयाँ प्रहरी इकाइको माग र ४०० भन्दा बढी इकाइमा स्तरोन्नतिको आवश्यकता रहेको जानकारी दिए। ती आवश्यकताको पूर्तिका लागि २५ हजारभन्दा बढी प्रहरी जनशक्तिको खाँचो रहेकोसमेत बताए।
जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीका सदस्यले पनि ज्यान गुमाएकोप्रति दुःख व्यक्त गर्दै उनले भने, 'गत भदौ २३ र २४ गतेको जेनजी पुस्ताका युवा तथा विद्यार्थीको प्रदर्शन र त्यसपछिका घटनाक्रमबाट देशले अकल्पनीय क्षति व्यहोर्नु परेको छ। उक्त प्रदर्शनको क्रममा नेपाल प्रहरीका सदस्य र ज्यान गुमाउनुभएका अन्य दिवंगत आत्माहरूको चीर शान्तिको कामना गर्दछु।'
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस