काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले सिंहदरबारमा आगलागी भएको घटनालाई लिएर आफू र महानगरमाथि लागेको आरोप अस्वीकार गर्दै विस्तृत स्पष्टीकरण सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले “सिंहदरबार जलाउने नै बालेन शाह हो” भन्ने प्रकारका आरोपलाई “पूर्ण रूपमा निराधार र अफवाहमूलक” भन्दै खण्डन गरेका हुन्।
बालेनका अनुसार, भदौ २४ गतेको रात मुलुकमा सरकार, प्रशासन र सुरक्षा संयन्त्र सबै ठप्प अवस्थामा थिए, तर काठमाडौँ महानगरले आफ्नो दायित्वबाट पछि हटेन। उनले लेखेका छन्, “त्यो दिन राज्य नै अस्तव्यस्त थियो, तर पनि हाम्रो टिम आगो निभाउनेदेखि लास व्यवस्थापनसम्म सबै जिम्मेवारीमा खटिएको थियो।”
सिंहदरबारमा लागेको आगो निभाउन महानगरको दमकल ढिलो पुगेको आरोपबारे बालेनले स्पष्ट पृष्ठभूमि दिएका छन्। उनका अनुसार आन्दोलनकारीहरूले दमकललाई काम गर्न नदिँदा प्रारम्भिक समयमा प्रवेश असम्भव बनेको थियो। तर, परिस्थिती केही शान्त भएपछि २४ गते साँझ ८:१५ बजे नै काठमाडौँ महानगरको दमकल सिंहदरबार पुगेको उनले उल्लेख गरेका छन्।
उनका अनुसार, महानगरसँग हाल ५ वटा दमकल सञ्चालनमा छन् — न्युरोडमा दुई, बालाजुमा दुई र रामहिटीमा एक। यी सबैमा १४ जना नगर प्रहरी र ३० जना सशस्त्र प्रहरी गरी ४४ जनाको टोली तीन सिफ्टमा खटिन्छ।
बालेनका अनुसार, २३ गतेदेखि २८ गतेसम्मको अवधिमा महानगरको दमकल टोलीले काठमाडौंका विभिन्न स्थानहरूमा ५५ भन्दा बढी पटक आगो निभाउने कार्य गरेको थियो।
सिंहदरबार मात्र होइन, संसद भवन, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सर्वोच्च अदालत, प्रहरी वृत्त, बैंक, अस्पताल र निजी घरहरूमा समेत दमकल सक्रिय रहेको उनले दाबी गरेका छन्।
उनले भनेका छन् — “नेपाल सेनासँगको सहकार्यमा हिल्टन होटलदेखि भाटभटेनी गोदामसम्म उद्धार कार्यमा हाम्रो टोली खटिएको थियो।”
बालेनले महानगरले स्वास्थ्यकर्मी, औषधि, रगत र लजिस्टिक व्यवस्थापनदेखि उपचारको लागि ‘Informed Consent’ मा समेत नगर प्रहरीले हस्ताक्षर गरेको जानकारी दिएका छन्।
उनका अनुसार, सहिदको शव व्यवस्थापनदेखि परिवारका लागि आवास, खाना र यातायातको जिम्मा महानगरले लिएको थियो।
पोस्टको अन्त्यमा उनले जनतालाई अफवाहमा नफस्न आग्रह गर्दै लेखेका छन्, “हामी आरोपबाट भाग्दैनौं, जिम्मेवारीबाट त अझै होइन। तर बिना तथ्य, डाटा विश्लेषण नगरी निष्कर्ष निकाल्ने विश्लेषकहरू र अफवाह फैलाउनेहरूबाट सावधान रहनुहोस्।”
उनले मिडियालाई पनि सत्य तथ्यका आधारमा समाचार लेख्न अनुरोध गर्दै भनेका छन्, “जनतासँगको भरोसा नै हाम्रो जिम्मेवारी हो, आपतकालीन व्यवस्थापनका लागि हामी सधैं खटिरहनेछौँ।”
सन्देशको अन्त्यमा मेयर शाहले लेखेका छन् — “देशलाई अहिले एकता र साँचो कुराको खाँचो छ, हल्ला र झूटको होइन।”
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस