Like us!
Follow us!
Connect us!
Watch us!

डा. कार्कीले ल्याइन् रास्वपाको ‘रिफर्मेसन रोडम्याप’ — के छन् उनका प्रस्ताव?

अर्थ संसार

आइतबार, २३ कार्तिक २०८२, ०७ : ४७ मा प्रकाशित

डा. कार्कीले ल्याइन् रास्वपाको ‘रिफर्मेसन रोडम्याप’ — के छन् उनका प्रस्ताव?

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य डा. तोसिमा कार्कीले पार्टीको विस्तारित केन्द्रीय समिति बैठकमा "रिफर्मेसन मार्गचित्र" प्रस्तुत गर्दै पार्टीमा गहिरो वैचारिक, सैद्धान्तिक र संगठनात्मक रूपान्तरणको आवश्यकता औपचारिक रूपमा उठाएकी छिन्। उनले पार्टीलाई अब वैकल्पिक होइन, मूलधारको राष्ट्रिय राजनीतिक शक्ति बनाउनै पर्ने बेला आएको स्पष्ट सन्देश दिएकी छिन्।

डा. कार्कीले प्रस्तुत गरेको दस्तावेजमा पार्टीभित्रको सुधार मात्र नभई देशकै राजनीतिक दिशालाई मध्यमार्गी, जिम्मेवार र नागरिक–केन्द्रित बनाउनुपर्ने धारणा अभिव्यक्त गरिएको छ। उनले अहिलेको संवेदनशील राजनीतिक परिस्थितिमा रास्वपाले "अग्रगामी र जिम्मेवार सुधार" गर्न नसके देशले पुनः यथास्थितिवादमा फस्ने चेतावनी दिएकी छिन्।


रिफर्मेसनको पृष्ठभूमि

डा. कार्कीले आफ्नो वक्तव्यमा २०८२ असोज २ गते पार्टीको केन्द्रीय कार्यालयमा आधिकारिक रूपमा पत्र दर्ता गरी सुधारको माग अघि सारेको स्मरण गराएकी छिन्। उनले हाल देश जेनजी आन्दोलनपछि ठूलो राजनीतिक संक्रमण र जनआक्रोशको मोडमा रहेको उल्लेख गर्दै, “हाम्रो पार्टीलाई जनता आशा र भरोसापूर्वक हेर्दै छन्, त्यसैले अब आत्ममूल्यांकन र पुनर्संरचना अपरिहार्य छ,” भनिन्।

उनका अनुसार जेनजी आन्दोलनले नेपाली समाजमा सुशासन, पारदर्शिता र भ्रष्टाचारविरुद्धको चेत जागृत गराएको छ। यस आन्दोलनको मर्मलाई आत्मसात् गर्दै सबै राजनीतिक दलहरूले पनि आत्मसमीक्षा गरी संरचनागत परिवर्तन गर्नुपर्ने उनको जोड थियो।

डा. कार्कीले भनिन् — “देशको वर्तमान र भविष्यलाई साँच्चिकै नेतृत्व गर्नसक्ने राजनीतिक शक्ति निर्माण गर्नु आजको अपरिहार्य आवश्यकता हो। त्यसका लागि हाम्रो पार्टीको पनि वैचारिक र संगठनात्मक रूपान्तरण आवश्यक छ।”


सचिवालय विस्तारमा असहमति

उनले पार्टीको सचिवालय विस्तारमा असहमति जनाउँदै २०८२ असोज ३१ गते लिखित रूपमा असहमति पत्र दिएको प्रसङ्ग पनि बैठकमा दोहोर्याइन्। उनका अनुसार, रिफर्मेसनको माग कुनै पद प्राप्तिको लोभ नभई सिद्धान्त, नीति र कार्यक्रमलाई केन्द्रमा राख्ने उद्देश्यका साथ गरिएको हो।

“यदि मेरो आवाज केवल पदको लागि भएको भए, सचिवालयमा समावेश हुने प्रस्ताव आउँदा म मौन बस्थेँ। तर मैले आवाज उठाएको कारण पद होइन, ‘सबै अट्ने, सबै खट्ने’ पार्टी निर्माणको सपना हो,” उनले भनिन्।

उनले स्पष्ट गरिन् कि रास्वपाको सुधार अब केवल संगठनात्मक संरचनामा सीमित रहनु हुँदैन, यसले सैद्धान्तिक र वैचारिक रुपान्तरण पनि समेट्नुपर्छ।


मार्गचित्रका मुख्य बुँदाहरू

डा. कार्कीले प्रस्तुत गरेको मार्गचित्रमा पार्टी सुधारका ठोस प्रस्तावहरू समावेश छन्।

१. मंसिरमा महाधिवेशन
उनले पार्टीको महाधिवेशनलाई “पार्टीको अक्सिजन” भनेर व्याख्या गर्दै, २०८२ मंसिरमै महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिइन्। महाधिवेशनले पार्टीमा नयाँ उर्जा, वैचारिक स्पष्टता र जनआधार सुदृढ गर्ने उनले बताइन्।

२. कार्यकारी नेतृत्व भंग गरी महाधिवेशन आयोजक समिति गठन
उनका अनुसार, गत वर्षको राष्ट्रिय भेलाबाट हालको केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिका रूपमा घोषणा गरिएको थियो। तर त्यसपछि पनि सचिवालय र पदाधिकारी कायम राख्नुको औचित्य स्पष्ट नभएको उनले बताइन्।
उक्त अवस्थालाई सुधार गर्दै, हालको कार्यकारी नेतृत्व भंग गरी समावेशी महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने प्रस्ताव उनले दिइन्। उक्त समितिमा जेनजी, वैकल्पिक शक्तिहरू र बौद्धिक वर्गको सहभागिता सुनिश्चित गर्नुपर्ने उनको सुझाव थियो।

३. एकताको नीति
डा. कार्कीले विचार मिल्नसक्ने राजनीतिक दलहरूसँग “घण्टी” चुनाव चिह्न साझा गर्दै एकता गर्नुपर्ने प्रस्ताव राखिन्। रास्वपाले उदार चरित्र प्रदर्शन गर्दै साना वा ठूला, सबै खालका दलहरूलाई एकता प्रक्रियामा स्वागत गर्नुपर्ने उनको धारणा थियो।

४. वैचारिक र सैद्धान्तिक पुनर्निर्माण
उनले रास्वपालाई वामपन्थी र दक्षिणपन्थी ध्रुवीकरणको सट्टा मध्यमार्गी, नागरिक–केन्द्रित राजनीतिक शक्ति बन्नुपर्नेमा जोड दिइन्।
“देशमा कम्युनिज्म र समाजवादका नारा भजिए पनि व्यवहारमा ती विचारहरू चरित्रविहीन बनेका छन्,” उनले भनिन्। “अब रास्वपाले लोककल्याणकारी राज्य निर्माणको वैचारिक नेतृत्व गर्नुपर्छ।”


‘बैठक केवल कर्मकाण्डी नबनोस्’ – डा. कार्की

डा. कार्कीले चितवनमा आयोजित विस्तारित बैठक केवल रायसुझावका लागि सिमित नबनाउन आग्रह गर्दै भनिन् —
“यो बैठकले जिम्मेवार साथिहरूको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्छ। विचार र निर्णयको अधिकार केन्द्रीय तहबाट मात्रै होइन, सबै तहका प्रतिनिधिहरूसम्म पुर्‍याउनुपर्छ।”

उनले पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्म र देशका दुर्गम क्षेत्रबाट आएका प्रतिनिधिहरूको आशा र लगानीको सम्मान गर्दै, बैठकले वैचारिक र संगठनात्मक रिफर्मेसनको मोडालिटी स्पष्ट निर्धारण गर्नुपर्ने माग गरिन्।


‘रास्वपाको रिफर्म अब अपरिहार्य’

उनले अन्त्यमा भनिन्,
“यो मार्गचित्र कार्यान्वयन भएमा रास्वपा वैचारिक, संगठनात्मक र नीतिगत रूपमा सुदृढ भई नागरिककेन्द्रित, जिम्मेवार र समावेशी राष्ट्रिय शक्ति बन्नेछ। देशको आजको परिस्थितिले खोजिरहेको सबल र सुसंस्कृत राजनीतिक शक्तिको रूपमा रास्वपा रूपान्तरण हुने विश्वास लिएकी छु।”

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको