ग्लोबल आइएमई बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बिहीबार काठमाडौँमा सम्पन्न भएको छ।
साधारणसभामा बैंकले आर्थिक वर्ष २०८०/८१ का लागि आफ्ना शेयरधनीहरूलाई ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ। साथै, बैंकले आफ्ना सञ्चालक समितिको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गरेको छ। बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ।
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले सो अवसरमा आफ्नो वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण पालना गर्दै शेयरधनीहरूलाई उचित लाभांश प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बैंकको व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यवसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्ने योजना पनि साझा गरे।
साधारणसभामा बैंकले आर्थिक वर्ष २०८०/८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको जानकारी दिइएको छ।
ग्लोबल आइएमई बैंकले “ग्लोबल फाइनान्स”को “बेष्ट बैंक अवार्ड २०२४” र “युरो मनी अवार्ड फर एक्सलेन्स २०२४” मा नेपालकै सर्वश्रेष्ठ बैंकको रूपमा सम्मान प्राप्त गरेको छ। यसैगरी, बैंकले विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थाबाट पनि विशेष सम्मान प्राप्त गरेको छ।
बैंकले नेपालका ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गरेको छ र ३५४ शाखा कार्यालय, ३८४ एटिएम, २५५ शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रमार्फत उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस