नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गते भएको घटनालाई ‘डिप स्टेट’को योजनाबद्ध हमला भनेका छन्। उनले अहिले बनेको अन्तरिम सरकार पनि त्यही षड्यन्त्रको परिणामस्वरूप आएको आरोप लगाए।
विघटित प्रतिनिधि सभाका एमाले सांसदहरूको बैठकलाई सम्बोधन गर्दै ओलीले वास्तविक जेनरेसन–जेड (जेनजी) का युवाहरू उक्त दिन माइतीघरदेखि एभरेष्ट होटलसम्म आएर शान्तिपूर्ण रूपमा फर्किएको बताए। तर ‘फेक जेनजी’ का नाममा परिचालित समूहले भदौ २४ गते तोडफोड र विध्वंस मच्चाउने योजनाअनुसार संसद भवनमा आगजनी गर्न खोजेको दाबी उनले गरे। ओलीका अनुसार सोही अवस्थालाई नियन्त्रण गर्ने क्रममा प्रहरीले बाध्य भई गोली चलाउनुपरेको थियो।
ओलीले ‘नेपो बेबी’ को नाममा बाल मनोविज्ञानमा आतंक सिर्जना गर्ने अभियान योजनाबद्ध रूपमा सञ्चालन गरिएको आरोप लगाए। उनले प्रधानमन्त्री सुशीला कार्की आफैं जेनजी आन्दोलनमा सहभागी भई विध्वंसको योजना बनाउन संलग्न रहेको दाबी पनि गरे।ओलीले एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेको एक अभिव्यक्तिप्रति उनले असन्तुष्टि व्यक्त गर्दै त्यसलाई पार्टीविरोधी टिप्पणी भएको समेत बताए।
उपाध्यक्ष पाण्डेले भनेका थिए, ‘भदौ २३ गते १९ जना मान्छे मार्ने गरी गोली चलाइयो, त्यो कुरा गलत हो। त्यो जसले गरेको पनि, एमाले सरकारले गरेको पनि सरकार दोषी हुन्छ। धरहरा कसले बनाएको, मैले बनाएको भन्ने, गोली कसले चलायो, त्यो त थाहा छैन, त्यसो भन्न मिल्दैन।’
उनले त्यो अभिव्यक्तिलाई लक्षित गर्दै पार्टीविरुद्धको हमला भएको बताए ।
ओलीले पाण्डेलाई सङ्केत गर्दै भने, ‘अहिले पनि हामीले सुनिरहेका छौँ, कतिपय मान्छेहरू धरहरा मैले बनाएँ भन्ने गोली कसले चलायो भन्ने थाहा पाइन भन्न मिल्छ ? भन्छन्, जिम्मा लिनुपर्छ भनेर बोलिरहेका छन्। यो हाम्रो पार्टीविरुद्धको स्पष्ट हमला हो। हाम्रो लिडरसिपविरुद्धको स्पष्ट हमला हो। जिम्मा लिनुपर्छ रे, जिम्मा लिनुपर्छ भन्या के?’
ओलीले प्रतिनिधि सभा विघटन कुनै पनि हिसाबले संवैधानिक नरहेकाले त्यसको पुनस्र्थापनाको विकल्प नरहेको बताए । उनले देशविरुद्धको षडयन्त्रविरुद्ध बोल्न नसक्ने राजनीतिक पार्टीको औचित्य नरहने प्रष्ट पारे । राष्ट्रिय सम्पत्ति र जनप्रतिनिधिका संस्थामा आगो लगाएर गरिने आन्दोलन क्रान्ति नहुने ओलीले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस