नेकपा एमालेका सचिव महेश बस्नेतले नगरपालिका चलाउन नसक्ने व्यक्तिले देश चलाउन सक्छ भन्ने भ्रम नपाल्न आग्रह गरेका छन्। रवि लामिछाने र बालेन शाहबीच गठबन्धन बनेपछि सामाजिक सञ्जालमार्फत धारणा राख्दै बस्नेतले विवादमा मुछिएका रविसँगको सहकार्यले बालेनको स्वतन्त्र र लोकप्रिय छवि छिटो कमजोर हुँदै जाने बताएका छन्। उनका अनुसार बालेनको लोकप्रियता स्वतन्त्र पहिचानसँग जोडिएको थियो। तर विवादित व्यक्तिको नेतृत्वमा रहेको दलसँग जोडिएपछि त्यो आकर्षण घट्ने देखिन्छ। रास्वपाको राजनीति पुराना दललाई गाली गर्ने र सत्तामा पुग्ने प्रयत्नमा मात्र केन्द्रित हुँदा स्पष्ट दिशा र भिजन नदेखिएको बस्नेतको भनाइ छ। यसले जनतासँगको दूरी बढ्ने र जनसमर्थन कमजोर हुँदै जाने उनले बताएका छन्। बस्नेतले भदौ २४ गते राज्य र लोकतन्त्रका आधार स्तम्भमाथि आक्रमण गरेर नेपाललाई भूराजनीतिक द्वन्द्वमा फसाउने षड्यन्त्र भएको दाबी पनि गरेका छन्। यसमा बालेन र रविको प्रत्यक्ष वा अप्रत्यक्ष भूमिका देखिनु र माओवादी तथा राजावादी धारको समर्थन हुनु गम्भीर विषय भएको उनले उल्लेख गरेका छन्। उनले नेपाली राजनीतिमा नयाँ अनुहारलाई सधैं आशाका रूपमा प्रस्तुत गरिने तर समयसँगै ती आशा बासी हुने गरेको उदाहरण दिए। गगन थापा, रवि लामिछाने र अहिले बालेन शाहप्रतिको जनआशा पनि क्रमशः कमजोर हुँदै गएको उनको भनाइ छ। तीन वर्षमा नगरपालिका नै रूपान्तरण गर्न नसक्नेले देश फेर्छ भन्ने विश्वास पनि अब घट्दै गएको उनले बताए। बस्नेतका अनुसार अबको चुनावमा मुख्य प्रश्न अराजकता र संरचना जलाउने राजनीति रोज्ने कि ती संरचना जोगाउने र तोडफोड गर्नेमाथि कारबाही गर्ने शक्ति रोज्ने भन्ने हो। उनका अनुसार अराजक धारको नेतृत्व बालेन–रविहरूले गरिरहेका छन् भने संरचना जोगाउने जिम्मेवारी पुराना दलहरूमाथि नै आएको छ। उनले समस्या पुराना दलको अस्तित्व नभई तिनमा देखिएका विकृति भएको स्पष्ट पारे। नयाँ दल खोल्नु समाधान नभई पुराना दललाई सुधार गर्दै राजनीति परिमार्जन गर्नु आवश्यक रहेको उनले बताए। अन्त्यमा बस्नेतले संविधान र लोकतन्त्रका पक्षधर शक्तिहरू एकजुट हुनुपर्नेमा जोड दिए। नत्र नयाँ बोतलमा पुरानै रक्सी पिउँदै हामी बारम्बार उही भ्रममा फसिरहने चेतावनी उनले दिएका छन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस