Like us!
Follow us!
Connect us!
Watch us!

कुलमान घिसिङ उनेपाको अध्यक्ष बने

अर्थ संसार

शनिबार, २६ पुस २०८२, १८ : ३२ मा प्रकाशित

कुलमान घिसिङ उनेपाको अध्यक्ष बने

पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङ अब उज्यालो नेपाल पार्टीको नेतृत्व सम्हाल्ने भएका छन्। शनिबार बसेको पार्टीको केन्द्रीय कमिटी बैठकले उनलाई औपचारिक रूपमा अध्यक्षको जिम्मेवारी दिएको हो। पछिल्लो राजनीतिक उतारचढावपछि घिसिङ पुनः आफ्नै दलको नेतृत्वमा फर्किएका हुन्।

यसअघि उनी उज्यालो नेपाल पार्टीका संरक्षक थिए र करिब दुई साताअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकता गर्ने घोषणा गरिएको थियो। तर, उक्त सहकार्य अन्तिम चरणमा पुगेर पनि टुटेपछि घिसिङ पुनः उनेपाको अध्यक्ष बनेका हुन्।

पार्टी स्रोतका अनुसार रास्वपाका सभापति रवि लामिछाने र कुलमान घिसिङबीच पछिल्ला दुई दिन चलेका संवादले कुनै ठोस निष्कर्ष निकाल्न नसकेपछि एकताको सहमति अन्त्य भएको हो। यसअघि पुस १४ गते दुवै पक्षबीच एकता गर्ने समझदारी भएको थियो र सोही आधारमा घिसिङलाई रास्वपाको उपसभापति बनाउने सहमति पनि गरिएको थियो।

तर वार्ताको क्रममा पार्टीको वैचारिक दिशादेखि संगठन संरचनासम्मका विषयमा मतभेद बढ्दै गयो। घिसिङले पार्टीलाई समाजवादी धारणामा लैजानुपर्ने, नेतृत्व संरचना विस्तार गर्नुपर्ने र केन्द्रीय तहमा थप प्रतिनिधित्व आवश्यक पर्ने प्रस्ताव राखेका थिए। ती विषयमा सहमति नजुट्दा एकता प्रक्रिया अघि बढ्न सकेन।

यसअघि सुशीला कार्की नेतृत्वको नागरिक सरकारमा सहभागिता जनाएको विषयलाई लिएर आलोचना भएपछि घिसिङले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारीबाट अलग हुँदै राजनीतिक पुनर्संरचनाको प्रयास गरेका थिए। सोही क्रममा उनी रास्वपासँग संवादमा थिए।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको