Like us!
Follow us!
Connect us!
Watch us!

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता :धरौटी, सेयर विवरण र पदत्याग प्रमाण अनिवार्य

अर्थ संसार

मंगलबार, ०६ माघ २०८२, ०८ : १३ मा प्रकाशित

प्रतिनिधिसभा प्रत्यक्ष निर्वाचनका लागि आज उम्मेदवारी दर्ता :धरौटी, सेयर विवरण र पदत्याग प्रमाण अनिवार्य

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजबाट प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया औपचारिक रूपमा सुरु हुँदैछ। निर्वाचन आयोगले निर्वाचन व्यवस्थापन, कानुनी प्रक्रिया र प्रशासनिक संयन्त्र तयारी अवस्थामा पुगेको जनाउँदै सबै १६५ निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गरिने जनाएको छ।

निर्वाचन आयोगका अनुसार आजको प्रक्रिया निर्वाचनको कानुनी सुरुवात बिन्दु भएकाले उम्मेदवार, राजनीतिक दल तथा समर्थकले आयोगले तोकेको मापदण्ड कडाइका साथ पालना गर्नुपर्नेछ। उम्मेदवारी दर्ता गर्दा उम्मेदवारको पहिचान खुल्ने कागजात अनिवार्य गरिएको छ, जसअन्तर्गत नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि तथा अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको प्रमाण बुझाउनुपर्ने व्यवस्था छ।

सरकारी संरचनामा कार्यरत व्यक्ति, प्रदेश वा स्थानीय तहका जनप्रतिनिधि, अथवा सरकारको स्वामित्व वा नियन्त्रणमा रहेका संस्थाबाट तलब–भत्ता लिने पदमा रहेका व्यक्तिले उम्मेदवारी अघि पद त्याग गरेको प्रमाण पेश नगरेसम्म मनोनयन स्वीकार नहुने आयोगले स्पष्ट पारेको छ।

मनोनयन प्रक्रियालाई व्यवस्थित बनाउन प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ अनुसार प्रत्येक उम्मेदवारका लागि प्रस्तावक र समर्थक अनिवार्य गरिएको छ। उनीहरू सोही निर्वाचन क्षेत्रका मतदाता हुनुपर्नेछ र हस्ताक्षरसहितको मनोनयन फाराम बुझाउनुपर्नेछ।

राजनीतिक दलबाट प्रतिस्पर्धा गर्ने उम्मेदवारका हकमा दलको केन्द्रीय नेतृत्वबाट जारी आधिकारिक मनोनयन पत्र अनिवार्य गरिएको छ। एउटै चुनाव चिह्न लिएर संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने दलले पनि आयोगले तोकेको ढाँचाअनुसारको कागजात पेश गर्नुपर्नेछ।

उम्मेदवारी दर्तासँगै आर्थिक पारदर्शितालाई जोड दिँदै आयोगले सम्पत्ति विवरण अनिवार्य गरेको छ। उम्मेदवारले आफ्नो चल तथा अचल सम्पत्ति, बैंक तथा वित्तीय संस्थामा रहेका खाता, सेयर स्वामित्व, ऋण लिएको वा दिएको विवरण सिलबन्दी गरी बुझाउनुपर्नेछ। साथै स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम र पेस्की तथा बेरुजु फर्छ्योटको प्रमाणसमेत माग गरिएको छ।

मनोनयन दर्ताका लागि १० हजार रुपैयाँ धरौटी रकम तोकिएको छ। तर महिला, दलित, अल्पसङ्ख्यक तथा आर्थिक रूपमा कमजोर उम्मेदवारका लागि धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको आयोगले जनाएको छ। आर्थिक विपन्नताको पुष्टि गर्न स्थानीय तहको सिफारिस आवश्यक हुनेछ।

भीड व्यवस्थापन र प्रशासनिक सहजताका लागि आयोगले दलगत रूपमा मनोनयनको समयसमेत तोकेको छ। आयोगले कुनै पनि प्रकारको जुलुस, नाराबाजी वा शक्ति प्रदर्शन नगर्न आग्रह गर्दै शान्त, मर्यादित र कानुनसम्मत ढंगबाट प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ।

निर्वाचन आयोगले यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ। संवैधानिक व्यवस्था अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा १६५ सदस्य प्रत्यक्ष निर्वाचन प्रणालीबाट र ११० सदस्य समानुपातिक प्रणालीबाट चयन हुनेछन्।

निर्वाचन सुरक्षाका लागि आवश्यक संयन्त्र परिचालन सुरु भइसकेको छ। निर्वाचन प्रयोजनका लागि गठन भएको अन्तरिम सरकारले आवश्यक स्रोत–साधन उपलब्ध गराएको आयोगको भनाइ छ। अधिकांश राजनीतिक दलले उम्मेदवार टुंग्याइसकेका छन् भने बाँकी दलले पनि आजकै दिन प्रक्रिया सम्पन्न गर्ने तयारी गरेका छन्।

आयोगले आजको मनोनयन प्रक्रिया लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण चरण भएको उल्लेख गर्दै देशभर संयमित र उत्साहपूर्ण वातावरणमा प्रक्रिया सम्पन्न हुने अपेक्षा व्यक्त गरेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको