Like us!
Follow us!
Connect us!
Watch us!

अन्तरिम सरकारको प्रशंसा गर्दै एनबीआईले भन्यो– अब नव निर्वाचित सरकारले सुशासन र आर्थिक विकासमा ध्यान दिनुपर्छ

अर्थ संसार

आइतबार, २४ फागुन २०८२, २१ : ०९ मा प्रकाशित

अन्तरिम सरकारको प्रशंसा गर्दै एनबीआईले भन्यो– अब नव निर्वाचित सरकारले सुशासन र आर्थिक विकासमा ध्यान दिनुपर्छ

राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) ले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै सन्तोष व्यक्त गरेको छ। संगठनले असाधारण राजनीतिक परिस्थितिका बीच सम्पन्न भएको निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियाका लागि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गरेको छ।

आइतबार जारी गरिएको प्रेस विज्ञप्तिमा एनबीआईका महासचिव सुरेन्द्रवीर मालाकारले गत भदौमा भएको जेन्जी आन्दोलनपछि उत्पन्न परिस्थितिमा गठन भएको अन्तरिम सरकारले आफ्नो प्रमुख जिम्मेवारी पूरा गर्दै मुलुकभरका १६५ वटै निर्वाचन क्षेत्रमा स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको अन्तरिम सरकारले राजनीतिक अस्थिरता, विभिन्न चुनौती तथा सुरक्षा जोखिमका बीच पनि निर्वाचन सम्पन्न गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्प्रति आभार व्यक्त गरिएको छ।

एनबीआईले निर्वाचन सम्पन्न गराउने क्रममा निर्वाचन आयोगको नेतृत्व, निजामती कर्मचारीहरूको योगदान तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र नेपाली सेनाबीच भएको समन्वयलाई पनि प्रशंसनीय ठहर गरेको छ।

संस्थाले यस निर्वाचनमा स्वतन्त्र पर्यवेक्षकका रूपमा समेत भूमिका निर्वाह गरेको जनाएको छ। देशका विभिन्न निर्वाचन क्षेत्रमा ११० भन्दा बढी पर्यवेक्षक परिचालन गरी मतदान प्रक्रिया, मतगणना तथा समग्र निर्वाचन व्यवस्थापनको अनुगमन गरिएको एनबीआईले जनाएको छ।

पर्यवेक्षकहरूको अवलोकनका आधारमा छिटपुट घटनाबाहेक समग्र निर्वाचन प्रक्रिया शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको निष्कर्ष निकालिएको विज्ञप्तिमा उल्लेख छ।

एनबीआईले अब नव निर्वाचित सरकारबाट स्थिरता, सुशासन, पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रभावकारी काम हुने अपेक्षा गरेको जनाएको छ। साथै आर्थिक स्थायित्व र दीगो समृद्धिका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि औंल्याइएको छ।

संस्थाले आर्थिक विकास, कानुनको शासन, पारदर्शिता तथा सुशासनका विषयमा नव निर्वाचित सरकारसँग रचनात्मक संवाद र सक्रिय सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ।

69ad95608a9e0.jpeg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको